नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा उमेश पटवाल


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्ती हुँदैछन् । शुक्रबार साँझ एक कार्यक्रमकाबीच पटवाल र राखेपबीच सम्झौतामा हस्ताक्षर हुनेछ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो । पटवालले पाउने पारिश्रमिक आईसीसीले प्रदान गर्नेछ ।

    यसअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको थियो । नेपाल क्रिकेट संघ क्यान निलम्बन भएपछि अर्को व्यवस्था नभएसम्मका लागि अण्डर १९ टोलीको मुख्य प्रशिक्षक रहेका टमाटालाई राष्ट्रिय टोलीको प्रशिक्षक बनाइएको थियो । चार वर्षका लागि राष्ट्रिय टोलीले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक हुनुपर्ने माग खेलाडीले गर्दै आएका थिए ।

    भारत मुम्बईका ४६ वर्षका पटवाल गत माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । पटवाललाई २०१८ मा जिम्बाबवेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा पठाएको थियो ।

    पटवालले विभिन्न कुराकानीका क्रममा नेपाली राट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न आफू तयार रहेको बताएका थिए । पटवालको आगमनले नेपाली खेलाडीले भारतका विभिन्न प्रतियोगितामा पनि अवसर पाउने अपेक्षा गरिएको छ । भारतीय नागरिक नै भएकाले पनि पटवालबाट नेपाली क्रिकेटले थप अवसर प्राप्त गर्ने सम्भावना रहेको खेलाडी बताउँदै आएका छन् ।

    को हुन पटवाल ?

    सन् २०१० मा अफगानिस्तानको राष्ट्रिय टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी-ट्वान्टी विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए । यसअघि उनी पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशक समेत भएका थिए । पटवाल भारतको भिदर्भ क्रिकेट एसोसिएसन एकेडेमी, ग्लोबल क्रिकेट स्कुल तथा पाएड क्रिकेट क्लब मुम्बईमासमेत प्रशिक्षकको रुपमा सघाउँदै आएका थिए । नेपाली खेलाडीका अनुसार पटवाल प्रशिक्षण गर्ने कडा शैलीको र खेलाडीको क्षमताको पहिचान गर्न चतुर मानिन्छन् । पटवाल खेलाडीको फिटनेस र व्यवहारमा समेत विशेष ध्यान दिने स्वभावका व्यक्ति हुन ।

    यसअघि प्रशिक्षक पुबुदु दासानायकेले नेपाल छोडेपछि पटवाल राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन । त्यसअघि समेत विभिन्न समयमा विदेशी प्रशिक्षकले नेपाली टोलीलाई सम्हालेका थिए ।

    चुनौती नेपाली ब्याटिङकै

    एसोसिएट राष्ट्रमा सबैभन्दा बढी क्रिकेट ‘फ्यान फ्लोइङ’ भएको नेपाली क्रिकेटको मुख्य समस्या भनेकै ब्याटिङ हो । नेपाली बलिङ भने राम्रो मानिन्छ । ब्याटिङमा प्रायजसो पारस खड्का, ज्ञानेन्द्र मल्लकै भर पर्नुपर्ने अवस्थाबाट नेपाली क्रिकेट गुज्रिएको छ । पछिल्लो समय युवा खेलाडीले राम्रो सम्भावना देखाए पनि राम्रो ‘एक्सपोजर’ नपाएको गुनासो रहँदै आएको थियो । पटवाल मूलतः ब्याटिङ कोचकै रुपमा परिचित भएकाले उनले नेपाली क्रिकेटको ब्याटिङको समस्यालाई सुल्झाउने अपेक्षा गरिएको छ । विभिन्न समयमा नेपाली क्रिकेटसँग जोडिएकाले पनि उनलाई नेपाली खेलाडीको सकारात्मक र नकारात्मक दुवै पक्षको राम्रो जानकारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार