
सरकारले आयातमा रोक लगाएपछि दशैंमा खसिबोका नपुग्ने भएको छ। जसले गर्दा खसिको मासुको मूल्य बढ्ने जनाएको छ।
दशैंमा ५० देखि ५५ हजार खसिबोका आउने गरेका थिए। सरकारले यस वर्ष आयातमा रोक लगाएको छ। जसले गर्दा खसिबोकाको अभाव हुने चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले बताए। ‘कम्तिमा २२ हजार खसिबोका अपुग हुन्छ। त्यसैले मासुको मूल्य बढ्नेछ,’ अध्यक्ष खत्रीले भने।
यस वर्षको दशैका लागि राजधानी काठमाडौंमा मात्रै ५० हजारभन्दा बढि खसिबोका र पाँचदेखि ६ हजार भेडाच्याङ्ग्रा ल्याइदै छ। दशैंको लागि हेपो संस्थाले ५२ हजार खसिबोका छुट्याएको छ।
त्यस्तै, खसीबोका संघले २० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड एक हजार खसिबोका र दुई हजार च्याङ्ग्रा छुट्याएको छ। यसले बजारको माग धान्न नसक्ने चौपाया खरिद बिक्री संघका अध्यक्ष खत्रीले बताए।
सरकारले भारतबाट ल्याउन रोक लगाउदा समस्या भएको उनले बताए। अहिले पनि लुकिछिपी खसिबोका आइरहेको बताउदै यसले मासुका भाउ बढ्ने उनको भनाइ छ। ‘सरकारले कि त पूरै आयत रोक्नुपर्यो। होइन भने, खुल्ला गरेर खसिबोकाको मासुको आपूर्ति सहज बनाउने व्यवस्था गर्नुप¥यो,’ अध्यक्ष खत्रीले भने, ‘यस्तै अवस्थामा त दशैंमा खसिबोका मासुको मूल्य बढ्ने निश्चित छ।’
संघका अनुसार, काठमाडौंमा चाडपर्वबाहेकको वेला दैनिक एक हजार खसिबोका आपूर्ति हुन्छ। अहिले नै दैनिक तीन सय खसिबोका अभाव भइरहेको छ। दशैको वेला दोब्बर माग हुन्छ।
अहिले नै खसिको मासुको मूल्य बढिसकेको छ। सरकारले रोक लगाएयता एक महिनामै जिउँदो खसीको मूल्य प्रतिकिलो दुई सय रुपैयाँले बढेको छ। अहिले जिउदो खसि प्रतिकेजी ६५० र मासु १२५० देखि १३५० सयमा बिक्री भइरहेको छ। गत वर्षको दशैंमै जिउदो खसिबोकाको मूल्य ५४० रुपैयाँ प्रतिकेजी रहेको थियो।
सरकारले आयातमा रोक लगाउदा उपभोक्ता मात्रै मर्कामा पर्ने उनको भनाइ छ। व्यापारीले लुकिछिपी ल्याइरहेको बताउँदै उनले भने, ‘आयात नहुँदा मासुको अभाव भइहाल्छ। एकातिर उपभोक्ताले प्रयाप्त मासु पाउदैनन्, अर्कोतिर महंंगो हुन्छ। चोरीछिपि ल्याउनेहरुले पनि महंगोमै बिक्री गर्छन्।’