यस कारण समुद्रको पानी नुनिलो हुन सुरु भयो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस २, २०७६

  • सबैलाई थाहा भएको कुरा हो, समुद्रको पानी नुनिलो र खरो हुन्छ । समुद्रको पानी नुलिलो र खरो हुनुको कारण हिन्दु धार्मिक ग्रन्थशिव पुराणमा उल्लेख गरिएको छ। एकपटक माता पार्वती भगवान शिवलाई पाउन भनेर कडा तपस्या गरिरहेको थिइन्। तपस्याको तेज यस्तो भयानक थियो, जसले स्वर्गलोकको सिंहासनमा बसिरहेका देवी देवताहरु त्रसित हुन थाले र यस समस्याको समाधान खोज्न कोशिश गर्न थाले। त्यसैक्रममा, समुद्र देवता पार्वतीको त्यस्तो तेजस्वीरुप देखेर मोहित भए। जब माता पार्वतीको तपस्या पूर्ण भयो, समुद्र देवले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरे र पार्वतीसँग विवाह गर्ने प्रस्ताव राखे।

    जुन कुरा सुनेर, माता पार्वतीले समुद्र देवलाई आफुले कैलाशपति भगवान शिवलाई माया गर्ने र उनै शिवलाई आफ्नो पति परमेश्वोर मानिसकेको बताइन्। पार्वतीको जवाफ सुनेपछि क्रोधित हुँदै भगवान शिवलाई अनेकौं गाली गर्दै समुद्र देवले भन्न थाले, ‘म सबै प्राणीको तिर्खा मेट्छु, मेरो चरित्र दूध जस्तै सेतो छ, ममा नहुने के छ त्यस्तो ?’ उनले बारम्बार पार्वतीसँग विवाह प्रस्ताव स्वीकार्न जिकीर गरे । तर, भगवान शिवको अनादर गर्दै गाली गरेपछि क्रोधित बनेकी पार्वतीले समुद्र देवलाई श्राप दिइन्, ‘तिमीले आफ्नो पानी मिठो भएकोमा घमण्ड गर्दैर्छौ, अब उपरान्त तिम्रो पानी नुनिलो हुनेछ । नुनिलो पानीको कारण कोही मनुष्यले तिम्रो पानी पिउने छैनन्।’ पार्वतीको यो श्रापले गर्दा समुद्रको पानी नुनिलो तथा खरो भएको हो। त्यसैगरी, अनेकौं पौराणिक कथाअनुसार समुद्रको पानी नुनिलो हुनुको कारण समुद्र मन्थन पनि भएको उल्लेख भएको छ । एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार