एक हजार २०० लाई राहत वितरण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र २४, २०७६

  • काठमाडौं । २४ चैत । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरुलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।

    यही चैत २० गतेदेखि राहत वितरण शुरु गरेको उक्त वडाले स्थानीय किमडोल, मञ्जुश्री मार्ग, ठाडो भ¥याङ, वनस्थली मार्ग, चःमतीलगायत स्थानका गरीब परिवारलाई चामल, पीठो, चिउरा, तेल, नुनलगायत सामग्री प्रदान गरेको छ । वडाध्यक्ष ईश्वरमान डङ्गोलले कोभिड–१९ का लागि स्वास्थ्य र राहत सामग्रीका लागि रु आठ लाख निकासा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यही चैत १७ गते महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।

     

    त्यसपछि नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरिएको भए पनि केही विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।

     

    अझै ३५० परिवारलाई राहत उपलब्ध गराउन बाँकी रहेकाले उनीहरुलाई मङ्गलबार वितरण गरिने स्वयम्भूस्थित आनन्दनगर टोल सुधार समितिका उपाध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो । चारजनाको परिवारलाई १२ किलो, पाँचजनाभन्दा बढी परिवार भएकालाई १६ किलो खाद्य सामग्री उपलब्ध गराइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार