ओलम्पियनको कोरोना बीमा गरिने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २०, २०७७

  • काठमाडौँ, २० भदौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । कमिटीको आज बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरिएको हो ।

    बैठकले ओलम्पियनसँगै हाल ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, ओलम्पिक कमिटीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा अन्य तीन कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको जानकारी गराइएको थियो । केही दिन अघि कोरोनाबाट संक्रमित हुनु भएका ओलम्पियन जीतबहादुर केसीको स्वास्थ्यलाभको समेत कामना गरिएको कमिटीले जनाएको छ ।

     

    नुवाकोट हाप्किडो च्याम्पियन

    नेपाल मार्शल आर्ट्स हाप्किडो सङ्घको व्यवस्थापन तथा नुवाकोट मार्शल आर्ट्स हाप्किडो सङ्घको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नुवाकोट च्याम्पियन बनेको छ ।

    आज सम्पन्न भएको सो प्रतियोगितामा नुवाकोटका चार खेलाडीले स्वर्ण पदक जितेका छन् । नुवकोटका समिर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले स्वर्ण प्राप्त गरेको आयोजक संथाका अध्यक्ष मनोज गुरुङले जानकारी दिनुभयो ।

    यस्तै दाङको टोली दोस्रो तथा कास्कीको टोली तेस्रो भयो । दाङका चेतन वली र गोपाल विकले तथा कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण पदक जितेका छन् । स्वर्ण पदक जित्नेलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगितामा रजत प्राप्त गर्ने खेलाडीलाई जनही रु सात हजार पाँच सय तथा कास्य पदक पाउने खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार