धानको बाला छ तर दाना छैन : सर्लाही र बाराका किसानहरू मारमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १८, २०७७

  • रमेश सापकोटा

    रौतहट, १८ असोज । धानको बालामा दाना नलागेपछि सर्लाही र बाराका किसानहरू मारमा परेका छन्। बाराको करिब ६ बिघा जग्गामा लगाइएको धानमा बाला लागे पनि भुस मात्र भएको तर दाना नलागेपछि किसान मारमा परेका हुन् । धानमा दाना नलागेपछि किसान धानको सुकेको बालासहितको गाँज बोकेर नगरपालिकामा गुनासो लिएर पुगेका छन । उनीहरु घाममा दुई किलोमिटर पैदल हिँडेर नगरपालिका कार्यालय पुगेका थिए। नगरपालिकाको कृषि शाखामा पुगेर किसानले निवेदन समेत दिएको निजगढ नगरपालिका–८ खैरघारीका किसान रामप्रसाद ओझाले बताए । बीउ वितरकहरुले बीउ बितरण गर्दा प्रतिकठ्ठा ५/६ मन सम्म फल्छ भनेर दिएको धानमा अहिले बाला निस्किए पनि दाना नलाएपछि किसान चिन्तित भएका छन्।

    यसैगरी बरहथवा नगरपालिका र बाग्मती नगरपालिकामा पनि किसानले लगाएको सयौँ बिघामा पनि धानमा दाना नलागेपछी किसान मारमा परेका छन । उन्नत जातको भनेर लगाएको धानमा बाला लागेको तर दाना नलागेको बागमती नगरपालिका–७ ईश्वरीटोल राजघाटका पानबहादुर लामाले गुनासो गरे । बीउ वितरकले प्रतिकठ्ठा ५/६ मनसम्म (४० केजिको एक मन) फल्छ भनेर दिएको धानमा अहिले बालामात्र निस्किएको उँनले बताए । चार बिघामा लगाएको धानको बालामा दाना लागेको छैन ।

    पटक पटक विषादी र महँगोमा मलखाद हाल्दा समेत सुकेर पगटो मात्र रहेको उनले गुनासो पोखे। एग्रोभेट संचालकले नक्कली बीउ दिएकाले धानमा दाना नलागेको किसानहरूको आरोप छ। बरहथवास्थित गौरव इन्टरप्राइजेज, आलोक रस्तोगी खाद बीज भण्डार, अंकित इन्टरप्राइजेज लगायतका एग्रोभेटबाट स्टार गोल्ड नामक धानको बीउ लगाएका किसानहरूले बताएका छन्।

    तपेश्वर महतोले पनि खेतमा गोरखनाथ धानको बीउ नपाएपछि सधैं मलखाद, बीउ बिजन दिने गौरव एग्रोभेट संचालकले त्योभन्दा धेरै फल्छ भनेर स्टार गोल्ड लगाउन सुझाएका थिए। एग्रोभेट संचालकको सिफारिसबमोजिम उँहाले डेढ बिघामा त्यही धान लगाएका थिए । जिल्लामा लगाएको अधिकांश गोल्ड स्टार नामको धानमा दाना नलाग्ने समस्या देखिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले बताए। मौसममा आएको परिवर्तन र किसानले नबुझी एग्रोभेटहरूको सिफारिसमा धान लगाएका कारण समस्या भएको उनको भनाइ छ। यसबाट धान उत्पादनमा गिरावट आउने उनले बताए ।

    केन्द्रका अनुसार यस वर्ष समयमै राम्रो वर्षा भएकोले ४६ हजार हेक्टर बढी धान खेती भएको छ। उक्त धानको बीउ सर्लाहीमा ३ मेट्रिक टनसम्म खपत भएको नेपालमा बीउ भित्राएको एएस नेपाल एग्रिटेक प्रालिका सर्लाही कोअर्डिनेटर नन्द किसोर यादवले बताए । उनका अनुसार जिल्लामा ३ सय बिघा क्षेत्रफलमा यो धान लगाइएको छ । यस वर्ष मौसममा एक्कासि आएको परिवर्तन र किसानले समयमै पुतलीको औषधि नलगाएका कारण दाना नलागेको यादवले दाबी गरे ।

    यो धानको बीउ नेपालको कृषि बीउ बिजन विभागमा समेत दर्ता नरहेको जिल्ला कृषि ज्ञान केन्द्रका मलंगवाका निमित्त प्रमुख रायको भनाइ छ। महँगोमा बीउ किनेर लगाएको धानमा समेत दाना नलागेपछि किसानहरू लगानीसमेत कसरी उठाउने भन्ने चिन्तामा परेको गुनासो छ ।

    जिल्लामा अवैध ढंगले संचालन भएका एग्रोभेटहरूले कमिसनको लोभमा नेपालमा सूचीकृत नै नभएका बीउ बिजन बेचिरहेका छन् । यसरी खुल्लम खुला नक्कली धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई नियमनकारी निकायले कारबाही नगर्दाको परिणाम भएको सरोकारवालको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार