वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ता साना–साना समूहमा गरिने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर १७, २०७७

  • काठमाडौँ, १७ मङ्सिर काठमाडौँ, १७ मङ्सिरवाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ c महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४०० औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गर्नुभयो । विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी त्यसको समन्वयका लागि काठमाडौँ महानगरपालिकाले समेत नेतृत्व लिनुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वाग्मतीमा हालसम्मको प्रगति, विद्यमान चुनौतीको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । प्याकुरेलले सरोकार भएका निकायका बीच समन्वयात्मक ढङ्गबाट अगाडि बढ्ने बताउनुभयो । समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले वाग्मती शुद्धीकरणमा सबैको सहयोगको आशा राख्नुहुँदै हालका समस्या समाधान गर्न लागिएको जानकारी दिनुभयो ।

    अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्ने, वाग्मतीको ढल व्यवस्थापन चोभारसम्म पुर्याउने र मुआब्जा दिने कुरामा आफू कटिबद्ध भएर लाग्ने भन्दै उहाँले त्यसमा सबैको साथ र सहयोगको आवश्यकता हुनुपर्ने बताउनुभयो । सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने अध्यक्ष तिमल्सेनाको भनाइ थियो ।

    बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागिरहनुभएका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीले विचार, समस्या एवं वाग्मती नदी र अन्य सहायक नदीको संरक्षण एवं सुधारका सम्बन्धमा सुझाव दिनुभएको थियो ।

    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट