भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २२, २०७८

  • काठमाडौँ, २२ वैशाख । नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उहाँलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा पर्नुभएको हो । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ ।

    यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उहाँको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभएको थियो । उहाँले सो प्रतियोगिताभर पाँच अर्धशतकसहित सर्वाधिक २७८ रन बनाउनुभएको थियो । । भुर्तेल प्लेअर अफ दि सिरिज घोषित हुनुभएको थियो । उहाँले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाउनुभएको थियो । सिरिजमा गरिएको प्रदर्शनका आधारमा उहाँ पहिलो पटक आइसिसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल हुनुभएको थियो ।

    आइसिसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिनुभएको थियो । यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाउनुभएको थियो । सोक्रममा उहाँले दुई शतकसमेत बनाउनुभएको थियो । मनोनयनमा पर्नुभएका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाउनुभएको थियो । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट