युरोपका बाढी पीडितलाई नेपालीको आर्थिक सहयोग


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १५, २०७८

  • ब्रसेल्स । बेल्जियमको  दक्षिण-पूर्वी भेगमा केही हप्ताअघि परेको अविरल वर्षाका कारण आएको बाढीद्वारा पिडितहरूलाई बेल्जियमवासी नेपालीहरूको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमले आर्थिक सहयोग प्रदान गरेको छ । नेपालीहरू लिन मात्र हैन दिन पनि जान्दछन् भन्ने उदाहरण प्रस्तुत गर्दै हिजो लुभेन स्थित होटल मेलोनमा संघका अध्यक्ष खड्क बहादुर केसी र कोषाध्यक्ष पुष्प नेपालले संकलित रकम रेडक्रस भ्लान्दरेनलाई लुभेन महानगरपालिकाका मेयर मोहम्मद रिदवानी मार्फत २५ सय यूरोको बैंक चेक प्रदान गरेका थिए ।

    युरोपियन मौसम मापन केन्द्रका अनुसार जलवायु परिबर्तनका कारण यूरोपको ईतिहासमै १ हजार वर्ष यता भएको यति ठूलो मात्राको भारी वर्षाले जनधनको व्यापक क्षति भएको थियो । संघका कोषाध्यक्ष पुष्प नेपालको संयोजकत्वमा सहयोग संकलन समितिले एक हप्तामा ३ हजार ७ सय युरोभन्दा बढी रकम नेपाली समुदायले स्वतःस्फुर्त प्रदान गरेका थिए । बाँकी रकमले बाढीग्रस्त ईलाकामा गएर खाद्यान्न, पेय पदार्थ, लत्ता-कपडा, औषधी लगायत सामग्री बितरण गर्ने समेत अध्यक्ष केसीले मेयर रिदवानीलाई जानकारी गराउनुभयो ।

    लन्डनपछि युरोपको चर्चित शैक्षिक शहर लुभेन महानगपालिकाका आप्रबासी मेयर समेत रहेका रिदवानीले नेपालीमाझ भन्नुभयो- ‘बेल्जियममा नेपालीहरूले देशलाई दुख्दा दुःखी हुने, दुखेको घाउ र घटनामा सानो भए पनि आफ्नो तर्फबाट मल्हम लगाउने सहयोगी मनहरूलाई सलाम गर्न चाहन्छु ।’

    नेपालमा भूकम्प जाँदा गरेको सहयोगको स्मरण गर्दै नेपालीको साँस्कृतिक कार्यक्रमहरूमा सहभागी रहँदा पाउने न्यानो हार्दिकता अनन्य रहेको समेत उहाँले बताउनुभयाे । मेयर रिदवानीले भन्नुभयो, ‘नेपाली नभए यो महानगरको होटल-रेस्टुराँ व्यवसाय चल्दैन ।’ विपदमा गरेको सहयोगले बेग्लै महत्व राख्ने भएकाले बाढीपीडितहरूलाई सहयोग गरेको आर्थिक रकमको पैँतालिस प्रतिशत सरकारले वर्षको अन्त्यमा फिर्ता पाउने पनि अध्यक्ष केसीले बताउनुभयो ।

    केही हप्ताअघि भएको अविरल वर्षाका कारण बेल्जियममा ठूलो जनधनको क्षति भएको थियो । हालसम्म ४२ जनाले ज्यान गुमाइसकेका छन् भने केही अझै हराइरहेका छन् । हज्जारौँ घरहरू डुबानमा परेका थिए । बेल्जियमका प्रधानमन्त्री अलेक्जान्दर डे क्रोले समेत अन्तर्राष्ट्रिय समुदायलाई विपदको घडीमा सहयोग गर्न अपिल गरेका थिए ।

    यूरोपियन बाढी प्रकोप सिस्टम ईएफ़ेएएसका अनुसार बाढीले लिज, नामुर, लिम्बर्ग, मुसे, पेपिनस्टर शहरका १० हजार घर परिवार विस्थापित हुनु परेको थियो । भने २० घर बाढीमा बिलय भएको थियो । लगातार ४८ घण्टा सम्म परेको भारी बर्षा बेल्जियममा २१७ देखि २७१,५ मिलिलिटर मापन गरिएको थियो । बाढीका कारण ४० देखि ५० हजार सवारी साधन रिसाईकलमा फालेको बताईएकोछ ।

    यूरोपका धेरै देश भएर बगेको यो नदीको बाढीले कुल २ सय ३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी जर्मनीमा १ सय ८४ जनाको मृत्यु भएको छ भने नेदरल्याण्ड, लक्जेम्बर्ग, अष्ट्रिया, स्वीटजरल्यानड, बेल्जियम , इटालीमा थप क्षति भएको छ । खानेपानी, रेलमार्ग , सडक , ग्यास पाइप, बिजुली, पुलहरू ध्वस्त भएकाले अर्बौं क्षति व्यहोर्नुपरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार