वाग्मती प्रदेशमा : हिउँदे अधिवेशन आह्वान


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज २०, २०७८

  • वाग्मती, २० असोज । वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमत परेको थियो ।

    सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानूनी बाध्यता छ । वाग्मती प्रदेशमा हाल १०९ जना सदस्य छन् । जसमध्ये सभामुखसहित ५६ सदस्य रहेको एमालेकोतर्फबाट एकल बहुमतको सरकार बनाउनुभएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ जना सदस्य मात्र छन् ।

    सरकार टिकाउन ५५ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ । प्रदेशसभामा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एस) को १३ र स्वतन्त्र एकजना गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ । सदनमा तीन मत रहेको विवेकशील साझा पार्टीले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट