परदेशमा बस्ने नेपालीहरुको दसैं


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज २७, २०७८

  • काठमाडौं, २७ अशोज । बाल्कोट, भक्तपुरका भविन कार्की (मार्भिन) ले अमेरिकालाई कर्मथलो बनाएको १३ वर्ष भयो । पछिल्लो ११ वर्ष यता उनी नेपाल आउन पाएका छैनन् । अमेरिकाको टेक्सासस्थित फोर्थवर्थमा रेस्टुराँ व्यवसाय सञ्चालन गरिरहेका कार्की दसैं, तिहार जस्ता चाडबाड निकै मिस गर्छन् ।

    अमेरिकाले कार्कीलाई यति तानेको छ कि आफ्नो व्यवसाय छाडेर उनी स्वदेश फर्किन सक्दैनन् । त्यसैले त परदेशमै ठूला चाडबाड मनाउनु परेको छ । अमेरिकाको टेक्सासस्थित फोर्थवर्थ र डल्लासमा नेपाली समुदायको बाक्लै उपस्थिीति छ । आफन्त, चिनजानका साथीभाईबिच भेटघाट गरेर उनले स्वदेशको नियास्रो मेटाउने गर्छन् । नेपाली कलाकारको सांगितिक कार्यक्रमले एक प्रकारको आनन्द दिन्छ । ‘नेपालमा घर, परिवारका सदस्यसँग भिडिओ कल गर्ने, टिका र जमरा लगाएपछि तास खेल्ने हो ।’ उनी भन्छन्, ‘विदेशमा दसैंको छुट्टी नै हुँदैन । नेपालमा त दसैं आउनु एक महिना अगाडी देखी नै रमाइलो हुन्छ । विदेशमा छोटो । तर, रमाइलो हुन्छ ।’

    अमेरिका बस्दा भबिनले मिस गर्नेहरु कुराहरु धेरै छन् । नेपालमा लामो विदा हुन्छ, आफन्तहरुसंग त्यही मौकामा भेटघाट गर्न पाइन्छ । रेडियो, टिभीमा बज्ने दसैंका गीत, त्यसमाथि नृत्य देख्दा त उनी हुरुक्क हुन्छन् । ‘नेपालको जस्तो दसैं त विदेशमा कहाँ पाईन्छ र ?’ यसो भन्दै गर्दा उनी भावुक सुनिए ।

    निलकण्ठ ११, धादिङ्गका प्रकाश धमला हाल दक्षिण कोरियामा छन् । उनले चार वर्ष यता नेपालमा परिवारको साथ दसैं मनाउन पाएका छैनन् । विदेशमा दसैंको छुट्टी नपाइने भएकोले नेपालमा जस्तो फुर्सदिलो भएर दसैं मनाउन पाउने छुट धेरै नेपालीलाई हुँदैन । तरपनि विदेशमा रहने अधिकांश नेपालीले शनिवार र आईतबार विदाको दिन पारेर साथीभाईहरुसंग भेटघाट गरी दशैको शुभकामना आदान–प्रदान गर्ने गर्दछन् । ‘यसपालिको दसैंमा म आफ्ना नजिकका साथीभाईसँग भेटघाट गरी मान्यजनबाट टीका ग्रहण गर्ने योजनामा छ ।’ उनी भन्छन्, ‘यसपालि शुक्रबार टीका परेकोले शनिबार र आईतबारबाट विदाको दिन साथीभाईसँग मिले दसैं मनाउने सोचमा छु ।’

    प्रकाशलाई दसैंमा मात्र नभई नेपाली चाडपर्वको बेला नेपालमा रहेका परिवार, आफन्तजन र साथीभाईको धेरै याद आउछ । उनलाई नेपालमा रहँदा दसैंमा मान्यजनबाट टीका र आर्शिबाद ग्रहण गरेको तथा साथीभाइहरुसँग मिलेर लिङ्गे पिङ् खेलेको धेरै सम्झना आउछ । अब त विदेशको दसैंको बानी पनि परिसक्यो । उनलाई लाग्छ, नेपालमा जस्तो चाडबाडको रौनक विदेशमा नभएपनि नेपाली साथीभाईसँग दसैं मनाउनुको छुट्टै रमाइलो भने छ ।

    विदेशमा कामको व्यस्तताले गर्दा चाडपर्वको खासै चहलपहल हुँदैन । तरपनि केहि नेपालीहरुले आफ्नो संस्कृति, परम्परा र आस्थालाई कायम राख्दै घर–घरमा जमरा राख्नेदेखि नवरात्रीमा पुजाआजा गर्ने गरेको पनि पाइन्छ । कोरियामा हरेक बर्ष गैर आवासिय नेपाली संघ लगायत विभिन्न नेपाली संघ–संस्था एवं नेपाली राजदुतावासले दसैं तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने चलन थियो । तर, यसपालि भने कोरोनाको कारण सार्वजनिक रुपमा त्यस्ता कार्यक्रम आयोजना हुने सम्भावना छैन । धेरैले चिनजानका साथीहरुको सानो समूह मिलेर घरमै बसेर चाडपर्व मनाउने योजना बुनेका छन् । दसैं तिहार जस्ता चाडपर्वले नै विदेशमा रहेका नेपालीहरुलाई भावनात्मक रुपले जोड्ने गर्छ । प्रकाशका लागि विदेशको दसैंको रमाईलो पक्ष भनेको नेपालका विभिन्न स्थानबाट आएका दाजुभाई दिदीबहिनीहरुसँग भेटघाट हुनु र सबै मिलेर दसैं मनाउनु हो ।

    पर्वत स्थायी ठेगाना भएकी संगीता कार्की कुँवर अध्ययनको सिलसिलामा दक्षिण कोरियामा छिन् । यसअघिका तीन वटा दसैं, तिहार उनले कोरियामै मनाइन् । यसपालि पनि उनको दसैं परदेशमै बित्दैछ । घटस्थापना दिन पूजाआजा गरेर, जमरा राखिसकेकी छिन् । संगीताले नेपालमा दसैं मनाउन नपाएको ६ वर्ष कटिसक्यो । कोरिया बस्दा जन्मभूमि पर्वतका अनगिन्ती सम्झनाहरु उनको दिमागमा झल्झली आईरहन्छन् । मिस हुने कुराहरु यति धेरै छन् कि कुरा गरेर साध्य नै छैन । गाउघरमा दसैं आउनु अघि नै बेग्लै खालको उल्लास हुन्थ्यो । गाउघरको माहोल यति रमाइलो हुन्थ्यो कि शब्दमा व्यक्त गर्न सकिदैन । घटस्थापनामा जमरा राखिन्थ्यो, पञ्चेबाजा बजाईन्थ्यो । घरमा एक जना मुलिले ९ दिनसम्म दुर्गा माताको पूजा गर्ने चलन थियो । फूलपातीको दिनमा बाजागाजा सहित दुर्गाको मन्दिर जाने चलन थियो । ‘ठूलो भइसके पछि पनि सांस्कृतिक कार्यक्रमहरुमा जान्थ्यौं ।’ उनले ति दिनको सम्झना गर्दै भनिन्, ‘त्यसरी संकलन भएको रकम सामाजिक कार्यमा लगाउँथ्यौं ।’

    घरमा पाकेका मीठा–मीठा परिकार खाएको, पिङ खेलेको, मेला पर्वमा गएका दिनहरु सम्झिदा संगीतालाई अहिले पनि ति दिनहरु फर्केर आइदिए हुन्थ्यो जस्तो लाग्छ । आफ्नो घर, गाउका ति संस्कारहरु एकदमै मिस हुन्छ । ‘कोरियामा त मन्दिर जाउँ भने मन्दिर छैन । गाउघरको जस्तो रमाइलो हुँदैन ।’ उनले भनिन्, ‘टिका लगाउने भोलिदेखी काममा जाने हो ।’ टिकाको दिनमा चिने जानेका, ठूलो व्यक्तिबाट टिका लगाएर दसैं मनाउने उनले बताइन् । कोरोनाको प्रभावले गर्दा कोरियामा ठूलो भिडभाड गर्न दिइएको छैन । त्यसैले पनि खासैं ठूलो चहलहपल देखिएको छैन ।

    बुटवल २ कि मोनिका नगरकोटीले युएइको आबुधाबीलाई कर्मथलो बनाएको धेरै वर्ष भयो । ६ वर्षदेखी उनले घर, परिवारसँग दसैं मनाउन पाएकी छैनन् । ‘बिदेशमा दशैंको चहलपहल हुन्छ तर, कम मात्रामा ।’ उनले आफ्नो दुखेसो पोखिन्, ‘धेरैजसो काममा ब्यस्त भैइन्छ ।’ ईलामका अमृत किराती कामको सिलसिलामा कुबेतमा छन् । जब–जब चाडबाडहरु नजिकिन्छन् उनलाई नेपालको माया लाग्न थाल्छ । कुबेतको तातो गर्मीमा पसिना बगाईरहँदा उनलाई स्वदेशको मौसमको याद आईहाल्छ । परदेशमा चाडबाड मनाउँदा उनलाई खासै बिशेष लाग्दैन ।

    ‘नेपालमा दशै मनाउँन नपाएको उनले चार वर्ष भयो । बिदेश दशै तिहार चाडपर्व मन–मनमा सम्झने हो ।’ परदेशिनुको पीडा पोख्दै उनले सुनाए, ‘आफ्नै घर, गाउमा दसैं मनाउने रहर पालेर बसेको छु ।’

    यस्तै झापा, बिर्तामोड स्थायी ठेगाना भएका लोकेन भट्टराई हाल अमेरिकास्थित पेन्सिलभिनियाको पिट्सवर्ग शहरमा मा बस्छन् । यसपाली उनले दसैं, तिहार रमाइलोसँग मनाउन पाउने छैनन् । ससुराली परिवारमा एक जनाको मृत्यु भएका कारण उनको दसैं सोचे जस्तो नहुने भयो । नेपालमा दसैं, तिहार मनाउन नपाएको १६ वर्ष भईसक्यो । ‘परदेशमा समयको धेरै महत्व छ ।’ उनी भन्छन्, ‘नेपाल जस्तो आनन्दले दसैं मनाउँन पाइदैन ।’ लामो समय बाहिर बस्दा लोकेनले आफ्ना साथीभाई, आफन्त र गाउघर खुब मिस गर्छन् । सकभर छिटै नै नेपालमा दसैं, तिहार मनाउन उनी आतुर छन् । तर, कहिले त्यो रहर पूरा होला ? त्यो उनलाई ठ्याक्कै थाहा छैन ।

    सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको कृष्णपुर २ का राजेश नाथ अमेरिकाको भर्जिनिया राज्यको स्टरलिङमा घर किनेर बसोबास गरिरहेका छन् । नेपालमा छँदा उनी दसैंमा पीङ खेल्ने, ठूलाबडाबाट आर्शिबाद लिने, घुम्न जाने गर्थे । यतिबेला उनी आमा, बुबा, दिदी, बहिनीलाई सबैभन्दा बढी मिस गरिरहेका छन् । उनले नेपालमा दसैं मनाउन नपाएको ७ वर्ष भयो । ‘स्वदेशमा जस्तो परदेशमा दसैंको रौनक र चहलपहल हुँदैन ।’ उनी भन्छन् ‘अमेरिकाको नेपाली समुदायमा नेपालीहरु जमघट भएर रमाइलो गर्ने गर्छौं ।’ नेपालमा छँदा उनी कलाकारितामा सक्रिय थिए । मेरी बास्सै सिरीयल लगायतमा उनले अभिनय गरेका थिए । परदेशमा आयोजना हुने बिभिन्न चाडबाड र मेलाहरुमा आफ्नो प्रस्तुति दिने गर्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार