हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ५, २०७९

  • काठमाडौँ, ५ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ ।

    नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा गोरखापत्र संस्थानका कृष्णप्रसाद भण्डारी, विष्णुप्रसाद पाण्डेय र रुपचन्द्र भट्टको समूह प्रथम भएको हो । प्रतियोगितामा राससले दोस्रो स्थान हासिल गरेको छ । राससका रविन कार्की, ओमप्रकाश बोहोरा र सीता भट्टराई सहभागी हुनुहुन्थ्यो ।

    प्रतियोगितामा नेपाल टेलिभिजनका अर्जुनकुमार बटाला, गणेशबहादुर ढकाल क्षेत्री र मीरादेवी भण्डारी अधिकारी तेस्रो र रेडियो नेपालका मनिषा आचार्य, हरिप्रसाद पन्थी र सविता खनालले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजयीलाई आगामी फागुन ७ गते आयोजना हुने राससको वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिनेछ ।

    राससका महाप्रबन्धक सिद्धराज राईले पहिलो प्रश्न सोधेर प्रतियोगिता सुरु भएको घोषणा गर्नुभएको थियो । उहाँले बौद्धिकताको उपयोग गर्दै सिर्जनशील क्षमता अभिवृद्धिका लागि यस्ता अतिरिक्त क्रियाकलापले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतियोगिताको संयोजन गर्दै राससका नायब महाप्रबन्धक सोमनाथ लामिछाने र राससका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले अन्तरसरकारी सञ्चारगृहबीच हार्दिकता कायम गर्दै सिर्जनशीलता उजागर गर्न प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।

    महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईँले सरकारी सञ्चारमाध्यमबीचको सम्बन्ध थप प्रगाढ होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । राससको वार्षिकोत्सवका अवसरमा योग, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी कार्यशालालगायत अतिरिक्त क्रियाकलाप गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट