काठमाडौँ, ६ वैशाख । न्यायका लागि मानवअधिकार नामक संस्थाले सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय हुनेगरी सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग ऐन संशोधन गर्नुपर्ने माग गरेको छ ।
‘सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग ऐन, संशोधनका लागि यस अगाडि पटकपटक आएका सुझाव ग्रहण गरेर मात्र संसद्मा छलफलका लागि पेस गरी सङ्क्रमणकालीन न्यायका पीडितलाई न्याय पर्ने गरी मात्र ऐन संशोधन गर्न संसद् सदस्य, राजनीतिक दलका नेता तथा सरोकारवाला सबैमा अनुरोध गर्दछौँ’ संस्थाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “दोषीलाई कारबाहीका लागि नभई घुमाउरो पारामा उन्मुक्ति दिनका लागि सत्यनिरुपण तथा बेपत्ता छानविन ऐन, २०७१ लाई संशोधन गर्नेगरी सङ्घीय संसद्मा पेस भएको संशोधन विधयेक तथा यसै सन्दर्भमा राजनीतिक दल कारबाही र न्यायभन्दा पनि सङ्क्रमणकालीन मुद्दालाई टुङ्ग्याउने मात्र उद्देश्यले गरिँदै आएको काम कारबाही तथा अभिव्यक्तिप्रति यस सञ्जालको गम्भीर चासो रहिआएको छ ।”