
काठमाडौं। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद र राष्ट्रिय युवा उद्यमी सञ्जाल (NYEN) को संयुक्त आयोजनामा एक दिने युवा व्यवसायिक तालिम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, Nabil Bank का प्रमुख कार्यकारी अधिकृत सीए मनोज ज्ञवाली, युवा सल्लाहकार भुपेन्द्र जंग साह, प्रशिक्षक सौनक भट्ट र प्रदीप पराजुलीलगायत विशिष्ट अतिथि तथा वक्ताहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागी युवाहरुलाई व्यवसाय सञ्चालनका कानुनी प्रक्रिया, व्यवसाय दर्ता, कर प्रणाली, अडिट सम्बन्धी ज्ञान प्रदान गरिएको थियो। कार्यक्रमले युवा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।
राष्ट्रिय युवा उद्यमी सञ्जाल (NYEN) का सह-कोषाध्यक्ष सुरेन्द्र अधिकारीका अनुसार यस्ता तालिमहरू युवालाई आत्मनिर्भर बनाउन र व्यवसाय क्षेत्रप्रति आकर्षित गराउन अपरिहार्य छन्। “देशको आर्थिक विकासमा योगदान दिन व्यवसायिक ज्ञान र प्रोत्साहन आवश्यक छ। हामीले यस्ता तालिम मार्फत युवालाई व्यावहारिक सीप र जानकारी दिने लक्ष्य राखेका छौं,” अधिकारीले बताए।
कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो व्यवसायिक यात्रा थप सहज हुने अपेक्षा व्यक्त गरेका छन्।