
आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा शनिवार लोकार्पण भएको छ । प्रमुख अतिथि प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको समेटेको बताइन् । `कृतिकारबाट आगामी दिनमा यस्तै रचना आउन्, प्रेरणा मिलोस,´ उनले भनिन् । कृतिका विषयमा समालोचक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा समेटिएको बताए । समाजमा सबै पक्षले मान्छे सुविधाभोगी भए पनि ऊ भित्र दु:खको पहाड हुने पनि बताए । साथै, विमुक्ति एउटा सामाजिक र दार्शनिक उपन्यास रहेको प्रस्ट पारे ।
यसैगरी, अर्का समालोचक पौड्यालले पनि विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको बताए । कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको पनि उनको भनाइ थियो । धनी मान्छेका पनि दु:ख हुन्छन्, दु:ख धनी र गरिबका उस्तै हुने हुँदा यसलाई उच्च वर्गको दु:खको कथा रहेको प्रस्ट्याए ।
समाजमा प्रौढ व्यक्तिका दु:ख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पनि पौड्यालले बताए । उडेर जहाँ गए पनि भुइँ छोड्न नहुने सन्देश पनि कृतिले समेटेको उल्लेख गरे, जहाँ जीवन र सुखदु:खको विरोधाभास पाइनेछ । कार्यक्रममा कृतिकार तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका साहित्यकार भुवनहरि सिग्देलले मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए । कृषि विकास बैंकका उच्च अधिकारी कृतिकार तिमल्सिनाले यसअघि विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन् । पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको कृतिको मूल्य रु. ४५० रहेको छ ।