खुवा बेचेर दश करोडको मालिक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २०, २०७६

  • काठमाडौं, २० वैशाख ।   एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले  देखाएका छन् । विसं २०४० मा २० वर्षको उमेरदेखि  खुवा बेच्दै आएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोडेका छन् ।

    मकवानपुर उपमहानगरपालिका–१७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी र चारवटा गिलासबाट व्यवसाय शुरु गर्नुभएका उनले दोस्रो वर्षदेखि दूधको खुवा घोट्न शुरु गरे ।  रघुनाथले  भने, “म काभ्रेको ढुङखर्कबाट रु चार सय बाटो खर्च बोकेर यहाँ आएको हूँ ।” मकवानपुरको पहाडी क्षेत्रका १४ गाविसका मानिस हिँडेर र घोडा चढेर त्यहाँ आउने खाजा खाने  गर्छन्, शुरुमा तीनैलाई खाजा खुवाउँदै गर्दा एक किलो, आधा किलो खुवा बिक्ने गरेको उनले बताए ।

    खुवाको प्रचार हुँदै जाँदा अहिले राजधानी काठमाडौँ, चितवन, कास्की, धनुषालगायत ठाउँमा खुवा पुग्ने गरेको जानकारी दिँदै  रघुनाथले भने “अहिले त विदेशी पनि आउँछन्, सुदूरपश्चिम बाहेक देशैभरी हाम्रो खुवा पुगेको छ ।” दैनिक एक सय किलोसम्म खुवा बेच्ने गरेको बताउँदै उनले घरका सबै यही पेशामा होमिएको छन् भने ।

    यही पेशाबाट कति कमाउनुभयो भन्ने प्रश्नमा रघुनाथले  भने “बजारमा तीन वटा घडेरी र एक बिघा खेत किनेको छु । दुई छोराछोरी पढाएको छु  यो सम्पत्ती जोड्न अहिले रु १० करोड चाहिन्छ ” गर्मी मौसममा आगोको राफसँगै कराइको दूध घोट्दा एक किलोमा रु एक सय हाराहारी बच्ने र दैनिक व्यापार एक नासको नभए पनि महीनामा रु एक लाख हाराहारी बचाउन सकिने बताए । प्रतिकिलो रु पाँच सयमा खुवा बेच्दै आएका तिमिल्सिनाले गुदपाक र दूध पनि बेच्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार