प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, यस्तो छ भ्रमण तालिका


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २६, २०७६

  • काठमाडौं, २६  वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । ओली बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
    दुवै मुलुकको औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललगायतले विदाइ गरे ।

    भियतनामका प्रधानमन्त्री न्यूग्यन जुयान फुकको निमन्त्रणामा त्यहाँको ५ दिनको भ्रमणपछि प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको निमन्त्रणामा त्यहाँको ३ दिने भ्रमणमा सहभागी हुनेछन्। भियतनाममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी फुकसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् । त्यसैगरी उनले भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन’लाई मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछन् ।

    सो सम्मेलनमा भारतका उपराष्ट्रपति बैंकट नाईडु, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसहितको उच्च राजनीतिक नेतृत्वको सहभागिता हुनेछ । बुद्धको जन्मस्थल लुम्विनी र शान्तको सन्देशलाई विश्वभर फैल्याउन सो सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

    प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भियतनामसँग तीन वटा समझदारी गर्ने सरकारको तयारी छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्धिपक्षीय परामर्श संयन्त्र निर्माणका विषयमा समझदारी गर्ने तयारी गरिएको हो । त्यसैगरी कम्बोडियाको भ्रमणका क्रममा द्धिपक्षीय हवाई उडानसम्बन्धि विगतमा गरिएका समझदारीलाई अघि बढाउने र सहयोगको क्षेत्र थप विस्तार गर्ने विषयमा छलफल हुनेछ । दुवै मुलुकको साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आगामी जेठ १ गते बुधबार अपरान्ह स्वदेश फर्कने तालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार