आईपीएल : चेन्नईलाई हराउँदै दिल्लीको फाइनल सपना,सन्दीप बेन्चमै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २७, २०७६

  • काठमाडौं, २७ वैशाख ।  इन्डियन प्रिमियर लिगमा पहिलोपटक उत्कृष्ट लयमा देखिएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली फाइनल प्रवेशको संघारमा छ। आज आइपिएल आइकनका रूपमा रहेको चेन्नईविरुद्धको खेलले दिल्लीको फाइनल सपना निर्धारण गर्नेछ। नेपाली समयअनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने खेलको विजेता टोली फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध उपाधिका लागि प्रतिस्‍पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बईले फाइनल स्थान पक्का गरेकाले दोस्रो मौकालाई सदुपयोग गर्ने दाउमा चेन्नई रहेको छ।

    फाइनल आइतबार हैदरावादको राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुनेछ। उक्त फाइनलको लागि दुई मिनेटमै पूरै टिकट बिक्री भइसकेको बताइएको छ। लिग चरणका दुवै खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो। दिल्ली आजको खेलमा विजयी भए पहिलोपटक आइपिएलको फाइनलमा पुग्ने इतिहास बनाउनेछ। अहिलेसम्म सातपटक आइपिएलको फाइनल पुगेको चेन्नईले आफ्नो दबाबपूर्ण इतिहास कायम राख्न मैदानमा उत्रनेछ। लिग चरणमा दिल्ली १४ खेलमा ९ मा जित र ५ हारका साथ तेस्रो स्थानमा रहँदै एलिमिनेटेर खेल्नुपरेको थियो।

    एलिमिनेटेरमा खेलमा हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा चेन्नईसँगको भेट पक्का गरेको हो। समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेको चेन्नई यसअघि पहिलो क्वालिफायरमा मुम्बईसँग ६ विकेटले पराजित हुँदा सोझै फाइनलमा पुग्ने अवसरबाट वञ्चित भएको थियो। आजको पराजय दुवै टिमका लागि सिजनको अन्तका रूपमा रहनेछ। श्रेयस ऐर,ऋषभ पन्त,शिखर धवन,ईशान्त शर्मा,पृथ्वी शा,अमित मिश्रा,टेन्ट बोल्टको प्रदर्शन दिल्लीको नतिजा निर्णायक हुने देखिन्छ। नेपाली युवा स्पिनर सन्दीप लामिछाने टिममा भए पनि उनको प्लेइङ ११ को सम्‍भावना भने कमजोर छ।

    जारी आइपिएलमा दिल्लीको मिडिल अडर र फिनिसिङ ब्याटिङ भने कमजोर रहँदै आएको छ। चेन्नईको टोली सन्तुलित छ। तर, चेन्नईको तीव्र गतिको बलिङ कमजोर मानिन्छ। महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी प्रदर्शनमा क्वालिफायरसम्म पुग्न सफल भएको चेन्नई आजको खेलमा पनि उनकै प्रदर्शनको भर मुख्य हुनेछ। त्यसोत दिल्लीपनि कप्तान ऋषभकै भरमा प्लेअफ सम्म पुगेकाले दुवै टिमको कप्तानको परीक्षाका रूपमासमेत खेललाई लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार