एट्लेटि मड्रिड छोड्दै एन्टोनी ग्रिजम्यान,बार्सिलोना जाने सम्भावना


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १, २०७६

  • काठमाडौं, १ जेठ।   फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले एट्लेटिको मड्रिड छाड्ने भएका छन् । क्लबका फरवाड ग्रिजम्यानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् । उनले एट्लेटिकोसँग ५ वर्षको सम्झौता गरेका थिए । ग्रिजम्यानले शनिबार हुने लेभान्टेविरुद्वको खेल आफ्नो अन्तिम खेल हुने उनले बताए । यता लिग च्याम्पियन बार्सिलोना उनलाई अनुबन्धन गर्न चाहन्छ । बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोसम्म तिर्न तयार भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    २८ वर्षिय ग्रिजम्यानले क्लबका लागि २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको आएका थिए ।

    बीबीसीका अनुसार बार्सिलोनाले ग्रिजमानको १२ करोड युरोको रिलिज क्लजको रकम तिर्नेछ । ‘यो पाँच वर्ष अभूतपूर्व रह्यो । सबै कुराका लागि धन्यवाद,’ ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै २८ वर्षीय ग्रिजमानले भनेका छन्, ‘मलाई सँधै माया दिने फ्यानहरुलाई यो भन्न चाहन्छु कि मैले क्लब छाड्ने निर्णय गरेको छु, नयाँ कुरा हेर्नका लागि, नयाँ चुनौती सामाना गर्नका लागि ।’

    यो निर्णय लिनका लागि आफूलाई कठिन भएको बताउँदै उनले पाँच वर्ष आफूलाई माया र साथ दिने सबैलाई धन्यवाद दिएका छन् । क्लबमा रहँदा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् भने पछिल्ला पाँच सिजन उनी क्लबका सर्वाधिक गोलकर्ता रहेका थिए । गत वर्ष पनि बार्सिलोनाले ग्रिजमानलाई अनुबन्ध गर्न चाहेको थियो । तर, ग्रिजमानले उक्त अफरलाई अस्वीकार गरेका थिए ।

    एथ्लेटिकोले यस प्रकरणमा बार्सिलोनाबिरुद्ध फिफामा उजुरीसमेत गरेको थियो । यो सिजन एथ्लेटिको छाड्ने ग्रिजमान तेस्रो हाइप्रोफाइल खेलाडी बनेका छन् । यसअघि लुकास हर्नान्डेजले क्लब छाडेर बायर्न म्युनिख जाने भएका छन् भने कप्तान डिएगो गोडिनले पनि क्लब छाड्ने जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार