विश्वकप क्रिकेटबारे ५ रोचक तथ्यहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ २४, २०७६

  • काठमाडौं, जेठ २४ ।  अहिले इंगल्याण्डमा १२ औं संस्करणको विश्वकप क्रिकेट चलिरहेको छ । यो विश्वकप कसले जित्छ भन्ने विषयमा अहिले चर्चा चलिरहेको छ । साथै, विभिन्न किसिमको घटना पनि खेलको क्रममा हुने गरेका छन् । त्यसमध्ये अहिलेसम्मको विश्वकपका धेरैलाई थाहा नभएका ५ तथ्य यहाँ प्रस्तुत गरिएको छ –

    १. पहिलो हिट–विकेट

    क्रिकेटमा आउट हुने धेरै तरिका छ । त्योमध्ये निकै कम मात्र हुने घटना हिट विकेट हो । कुनै ब्याट्सम्यान सकेसम्म आफ्नै ब्याट वा शरीरले स्टम्पलाई ढाल्न चाहँदैनन् । अझ यति ठूलो प्रतियोगितामा त्यस्तो गल्ती नहोस् भनेर उनीहरु सजग हुन्छन् ।

    विश्वकपमा पहिलोपटक यस्तो घटना सन् १९७५ मा भएको थियो । वेस्ट इन्डिजका रोय फ्रेडेरिक्सले फाइनल खेलमा आफ्नो विकेट गुमाउन पुगेका थिए । अष्ट्रेलियाली बलरले गरेको सर्ट बलमा छक्का प्रहार गरेसँगै उनको सन्तुलन बिग्रेको थियो र उनले खुट्टाले स्टम्प ढल्न पुगेको थियो । उनी एकदिवसीय क्रिकेटमा हिट–विकेटको शिकार हुने पहिलो ब्याट्सम्यान हुन् ।

    २. क्वाइन टस विवाद

    सन् २०११ को विश्वकपको फाइनलमा क्वाइन टसको विषय निकै विवादित बन्न पुग्यो । क्वाइन टसमा भारतीय कप्तान महेन्द्रसिंह धोनी र श्रीलंकाका कुमारा सांगाकारा थिए । उनीहरुको बीचमा सौहार्द वातावरणमा भए पनि क्वाइन टसको विवाद देखिएको थियो ।

    म्याच रेफ्रीले क्वाइन टस गरेका थिए तर उनले सांगाकाराले भनेको कुरा सुनेनन् । क्वाइनमा हेड पल्टियो जुन संगाकाराले भनेका थिए । तर, उपस्थित कसैले पनि उनले भनेको सुनेका थिएनन् । त्यसपछि पुनः क्वाइन टस गरियो, फेरि संगाकाराले हेड भने र हेड नै पल्टियो र श्रीलंकाले टस जित्यो । यदि श्रीलंकाले टस हारेको भए यो विवादले उग्ररुप लिने पक्का थियो ।

    ३. एकमात्र सय माइल प्रतिघण्टाको बल

    सन् २००३ को विश्वकपमा पाकिस्तानी बलर शोएब अख्तरले १ सय माइल प्रतिघण्टाको बलिङ गरेका थिए । अहिलेसम्म विश्वकपमा एक सय माईल प्रतिघण्टाको कीर्तिमान कसैले पनि पार गरेका छैनन् ।

    ४. उदारता महँगो परेको खेल

    सन् १९८७ को विश्वकपमा भारत र अष्ट्रेलियाको खेल चलिरहेको थियो । जसमा भारतीय बलर मनिन्दर सिंहले गरेको बलिङलाई अष्ट्रेलियाका डिन जोन्सले प्रहार गरे । त्यो बल बाउन्ड्रीभन्दा बाहिर गयो । तर, अम्पायरले त्यो चौका थियो वा छक्का भन्ने छुट्याउन सकेनन् । नजिकै रहेका फिल्डर रवि शास्त्रीले त्यो चौका रहेको बताए र अम्पायरले त्यसलाई चौका दिए । तर, ब्याट्सम्यानले त्यो छक्का भएको दाबी गरे । यो समस्याको समाधान इनिङ ब्रेक हुँदासम्म पनि भएन । ब्रेकको क्रममा भारतीय कप्तान कपिल देवले अष्ट्रेलियाको दाबीलाई मानिदिने निर्णय गरे । अन्तिममा सो खेल भारतले १ रनले हार्न पुग्यो । जसमा कपिल देवको उदारता भारतको लागि घातक साबित भयो ।

    ५. सबै फर्म्याटको क्रिकेट जित्ने टोली भारत

    कुनै समय एकदिवसीय क्रिकेटमा ६० ओभरको इनिङ हुने गथ्र्यो । ६० ओभरको क्रिकेटको अन्तिम विश्वकप सन् १९८३ मा खेलिएको थियो । यो ६० ओभरको क्रिकेटको अन्तिम विश्वकप थियो । यो विश्वकप भारतले जितेको थियो । भारतले सन् २००७ मा भएको टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जितेको थियो । यससँगै भारत २० ओभर, ५० ओभर र ६० ओभर तीन फम्र्याटको विश्वकप जित्ने एक्लो मुलुक बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार