फुटबल प्रेमीहरुको मनमा डर : के मेस्सीले अर्जेन्टिनालाई कुनै पनि उपाधि दिलाउन सक्दैनन्??


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ४, २०७६

  • काठमाडौं,  असार ४ ।  विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, लियोनल मेस्सी जस्ता ठूला खेलाडीले आफ्नो जन्म सोही भूमिमा लिएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब इतिहासमा धेरै उपाधिहरु जिताए । तर, देशका लागि केही भने ठूलो उपाधि जिताउन सकेका छैनन् । जतिजति मेस्सीको उमेर छिपिँदै जान्छ, त्यतिनै फुटबल प्रेमीहरुको मनमा एउटा डर उत्पन्न हुन्छ ।

    कारण एउटा महान खेलाडीले देशलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन् । दुई पटक कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्याएर पनि उपाधि दिलाउन नसकेका मेस्सीले सायद अन्तिम पटक कोपा अमेरिका खेल्दैछन् ।

    अर्काे ठूलो फुटबल प्रतियोगिता विश्वकप फुटबलमा अर्जेन्टिनालाई फाइनलमा पुर्याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरुमा राज गरेर बसिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरिरहेका कप्तान मेस्सी, इटालियन क्लब युभेन्टसमा पाउलो डिबाला, फ्रान्सेली क्लबमा एन्जल डी मारिया, इङ्लिस क्लब म्यान्चेस्टर सिटीमा सर्जियो अग्युरो लगायतका खेलाडीहरु विश्व फुटबलमा राज गरेर बसेका छन् ।

    जब अर्जेन्टिनाले अन्तरराष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन् उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो । उक्त विश्वकपमा कप्तान लियोनल मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए ।

    तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए । मैस्सी भर्खरैमात्र कोपा अमेरिकाको लागि राष्ट्रिय टोलीमा फर्के । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

    उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरुको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले कोपा अमेरिकाको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको सुरुवात गर्यो ।

    पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।

    पहिलो खेलमा पराजित अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो खेल खेल्दैछ । अर्जेन्टिनाले बिहिबार बिहान पाराग्वेविरुद्ध खेल्दैछ । अर्जेन्टिना र पराग्वेको खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजे हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार