ला लीगा अध्यक्ष जेभियरनै नेमारको विरोधमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार १६, २०७६

  • काठमाडौं । असार १६ ।  पछिल्लो समय विवाद र चोटको घेराबन्दीमा परेका ब्राजिलियन स्टार नेमारको भविष्यमा संकट देखिन थालेको छ । ब्राजिलियन क्लब सान्तोषमा रहँदा उच्च सम्भावना भएको खेलाडी भन्दै बार्सिलोनाले कीर्तिमानी मुल्यमा आफ्नो क्लब भित्र्याएको नेमारले क्लबका अन्य स्टार लियोनल मेस्सी र लुइस सुआरेजसँगै खेल्दै बार्सालाई राम्रो सफलता दिलाएका थिए ।

    करिब दुईवर्ष अगाडि २ सय २२ मिलियन यूरोको कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा गएका उनले मुल्य अनुसार प्रदर्शन पनि गर्न नसकेको र अनेक विवादमा पर्ने गरेको कारण क्लबलाई उनी घाँडो भएको बताइन्छ ।

    कहिले दर्शकलाई मुक्का हान्ने र कहिले महिलासँग अनैतिक सम्बन्ध राख्दै बलात्कारको मुद्दामा पर्ने गरेको कारण पीएसजीले यो वर्ष देखिनै उनलाई हटाउन पहल शुरु गरिसकेको थियो ।

    पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले नेमारलाई लक्षित गर्दै ‘सेलिब्रेटी व्यवहार’ सहन नसकिने बताइसकेका छन् । अनेक विवादमा पर्ने कारणले पनि उनको यस्तो भनाइ आएको बताइन्छ । त्यस्तै चोटको कारण उनीबाट कुनै विशेष प्रदर्शन हुन नसकेपछि उनीप्रति क्लबको मोहभंग भएको बताइन्छ ।

    अर्कोतर्फ च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोनाले पनि क्लबमा ठुलै परिवर्तन गर्न लागेको बताइन्छ । क्लबमा अपेक्षाकृत राम्रो गर्न नसकेका खेलाडी बिक्री गर्दै पछिल्लो समय नेमार लगायतका नयाँ खेलाडी भित्र्याउन लागिपरेको बुझिएको छ । क्लबले एट्लेटिको मेड्रिडबाट आन्त्वान ग्रिजमानलाई ल्याउन लागेको बताएको छ ।

    उनी आउने हल्लासँगै ला लीगा अध्यक्ष जेभियर तेबासले २७ वर्षिय नेमार स्पेनिस लिगमा नफर्किनु राम्रो हुने बताएका छन् ।

    ला लीगामा सधैं राम्रा खेलाडीहरु आउन भन्ने इच्छा भएपनि नेमार जस्तो विवादास्पद व्यक्ति आउनु राम्रो नहुने भन्दै उनले कडा अभिव्यक्ति दिएका छन् । ला लीगा प्रतिष्ठीत प्रतियोगिता भएको र यसको मुल्य र मान्यताको लागि आफुहरुले निक्कै त्याग गरेको उनको कथन छ ।

    यसअघि बार्साका उपाध्यक्ष जोडी कार्डोनरले पनि नेमार बार्सामा फर्किन चाहेको तर उनी आइहाल्ने सम्भावना अहिले नरहेको बताएका थिए । क्लबकै वर्तमान तथा पूर्व खेलाडीहरु पनि नेमार क्लबमा फर्किउन भन्ने नचाहेको खबरहरु आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार