फिफा महिला विश्वकप : गोल्डेन बल र बुट जित्ने को हुन् मेगान ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार २३, २०७६

  • काठमाडौं । असार २३  । आठौं संस्करणको फिफा महिला विश्वकप उपाधि अमेरिकालाई सुम्पिँदै आइतबार राति फ्रान्समा सम्पन्न भएको छ । नेदरल्याण्डमाथि २–० रोमान्चक जितसहित अमेरिकाले कीर्तिमानी चौथो पटक विश्वकपको उपाधि जितेको हो ।

    हरेक विश्वकपले कोही न कोही स्टारलाई चर्चामा ल्याएकै हुन्छ । यो विश्वकपमा सबैको नजरमा परिन् रापिनोइ मेगान । ३४ वर्षिय उपकप्तान मेगानले अमेरिकालाई उपाधिमात्र दिलाइनन्, व्यक्तिगत दुई अवार्ड पनि जितिन् ।

    फ्रान्सस्थित ओलम्पिक स्टेडियममा नेदरल्याण्डले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपछि आतुर अमेरिकाले दोस्रो हाफमा लय समात्दै अग्रता बनाउँदा मेगानले नै गोल गरेकी थिइन् । ६१ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेकी रापिनोइ अन्ततः दुई महत्वपूर्ण अवार्डको हकदार बनिन् ।

    उत्कृष्ट प्रदर्शन गरेबापत पाउने गोल्डेन बल अर्थात सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट जितेकी मेगानले विश्वकपभरी ६ गोल गरेकी हु्न् । उनकै प्रदर्शन प्रेरित अमेरिकाले आफ्नो लक्ष्य पूरा गरेको हो ।

    को हुन् मेगान ?

    १९८५ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी मेगानले २००२ मा पहिलो पटक यू–१६ राष्ट्रिय टोलीबाट आफ्नो फुटबल करीअरलाई अघि बढाएकी थिइन् ।

    सानैदेखि फुटबलर बन्ने लक्ष्यलाई मुर्तरुप दिन उनी पहिलोपटक फ्रान्स भ्रमणमा गएकी थिइन् यु–१६ को सदस्य रहँदै । त्यसपछि यू–१९ टोलीमा पनि उनी समावेश भइन् । २००४ मा फिफा यू–१९ महिला विश्व च्याम्पीयनसिपमा पनि सहभागि भएकी थिइन् । जहाँ उनले ३ गोल गरेकी थिइन् ।

    २००६ आयरल्याण्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी रापिनोइले २००७ मा भएको फिफा महिला विश्वकप र २००८ को बेइजिङ ओलम्पीक एसिएल इन्जुरीका कारण गुमाएकी थिइन् । २००९ मा घाइतेपछि फर्किएकी उनले त्यसपछि पछाडि फर्किनु परेन । त्यही वर्ष उनले ७ खेलमा सहभागिता जनाइन्, त्यो पनि सुरुआती–११ मा पर्दै ।

    २०११ को फिफा महिला विश्वकपमा डेब्यु गरेकी रापिनोइले क्लोम्बीयालाई समूह चरणमा पराजित गर्न २ गोल गरेकी थिइन् । २०१२ मा लण्डन ओलम्पीकमा सहभागि रापिनोइले २०१३–१४ मा अल्ग्रेभ कप र २०१५ को फिफा महिला विश्वकपमा सहभागिता जनाएकी थिइन् । यु–२० उमेर समूहमा २१ खेलमा ९ गोल गरेकी रापिनोइले राष्ट्रिय टोलीबाट समग्रमा १ सय ५८ खेलमा ५० गोल गरेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार