 
                            काठमाडौं । साउन ३ । आफ्ना किशोर खेलाडी मासन ग्रिनउडको क्षमताबाट म्यानचेस्टर युनाइटेडका खेलाडीमात्र होइन प्रशिक्षक ओले गनर सोल्सकर पनि उत्तिकै प्रभावित छन्। बुधबार राति खेलिएको लिड्स युनाइटेडविरुद्घको खेलपछि मार्कुस रासफोर्डसँगै प्रशिक्षक सोल्सकरले पनि १७ वर्षीय स्ट्राइकर ग्रिनउडको मुक्त कण्ठले प्रशंसा गरेका छन्।
लिड्स युनाइटेडविरुद्घको खेलमा टोलीका लागि पहिलो गोल नै ग्रिनउडले गरेका थिए। उक्त खेलमा म्यानचेस्टर युनाइटेड ४-० गोलले विजयी भएको थियो। ‘ग्रिनउड फुटबल खेल्नैका लागि जन्मिएका हुन्। फुटबल मैदानमा उनको क्षमता गजबको छ’, २१ वर्षीय रासाफोर्ड भन्छन्। अनुभवको कमीका कारण उनमा आत्मविश्वासको भने केही कमी रहेको रासफोर्ड बताउँछन्।
‘उनले भर्खरै ठूला प्रतियोगिताहरूको अनुभव बटुल्दैछन्, त्यसैले आत्मविश्वासको भने केही कमी देखिन्छ। तर, मैदानमा उनको लगाव र क्षमता बेजोडेको छ’, रासफोर्ड भन्छन्। प्रशिक्षक सोल्सकरले पनि ग्रिनउडको खेलको प्रशंसा गर्दै भविष्यमा उनीबाट क्लबले निकै ठूलो आशा गरेको बताएका छन्।
प्रशिक्षक सोल्सकरले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो खेलदेखि नै ग्रिनउडलाई मैदानमा उतारिने संकेत पनि दिए। ‘सिजनको सुरुआतदेखि नै ग्रिनउड टोलीमा हुनेछन्’, सोल्सकरले भने। आगामी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो पहिलो खेल अगस्ट ११ तारिखमा चेल्सीसँग खेल्दैछ।
ग्रिनउड इङ्ल्यान्डको यू- १८ राष्ट्रिय टोलीका खेलाडी हुन्। ग्रिनउड केवल ६ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडको एकेडेमीमा आबद्ध भएका थिए। उनले म्यानचेस्टर युनाइटेडबाटै फुटबलको कखरा सिकेका हुन्। उनले गत मार्चमा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीबाट ‘डेब्यु’ गरेका थिए।
म्यानचेस्टर युनाइटेडको तर्फबाट उनी पहिलो पटक च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध मैदानमा ओर्लिएका थिए। उक्त खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको थियो। उनले गत सिजन प्रिमियर लिगमा पनि तीन खेल खेलेका थिए। लिड्स युनाइटेडविरुद्घ पर्थमा गरेको गोल म्यानचेस्टर युनाइटेडको सिनियर टोलीबाट उनले गरेको पहिलो गोल हो।
पछिल्लो समय म्यानचेस्टर युनाइटेडका अनुभवी खेलाडी रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलान जाने तयारीमा छन्। लुकाकु इन्टर मिलान गए म्यानचेस्टर युनाइटेडले उनको विकल्पका रूपमा ग्रिनउडलाई नै अघि सार्ने सम्भावना छ। ‘मैदानमा ग्रिनउड छरिता छन्, विपक्षीलाई छक्याउन माहिर छन् र सबैभन्दा ठूलो कुरा उनी चतुर किशोर हुन्’, प्रशिक्षक सोल्सकर भन्छन्।
अघिल्लो सिजनको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड छैटौं भएको थियो। यसपटक भने प्रशिक्षक सोल्सकरले आफ्नो टोलीलाई कम्तीमा चौथो स्थानभन्दा माथि पुर्याउने लक्ष्य लिएका छन्। गत डिसेम्बर १९ तारिखमा तत्कालीन प्रशिक्षक होजे मोउरिन्होले पदबाट हटेपछि ४६ वर्षीय सोल्सकरले उक्त जिम्मेबारी पाएका हुन्। सुरुमा कामचलाउ प्रशिक्षकको जिम्मेवारी लिएका सोल्सकरले गत मार्च २८ तारिखमा पूर्णरूपमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। पूर्ण प्रशिक्षकको जिम्मेवारी पाउनुअघि उनले क्लबलाई १९ मध्ये १४ खेलमा जित दिलाएका थिए।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    