बेललाई अनादर गरेको होइन :-जिदान


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ७, २०७६

  • काठमाडौं । साउन  ७। स्पेनिस क्लब रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदान र स्ट्राइकर ग्यारेथ बेलबीच सम्बन्ध चिसिएको निकै समय भयो । जिदान आउँदो सिजन बेललाई क्लबमा देख्न चाहँदैनन्, बेल के गर्ने एकीनमा छैनन् ।

    प्रशिक्षक जिदानले त सार्वजनिक रुपमा नै बेलले छिटो भन्दा छिटो क्लब छाड्नु नै उपयुक्त हुने बताउँदै आएका छन् । जिदानको पछिल्ला भनाईहरुले बेलले क्लबका लागि गरेको योगदानको कदर नभएको र उनलाई अनादर गरिएको विश्लेषणसमेत भइरहेका छन् ।

    बेलका एजेन्ट जोनाथज बर्नेटले त जिदानले बेलका बारे व्यक्त गरेको धारणाले उनको अनादर गरेको सार्वजनिक रुपमा नै बताए । यसैले जिदानले उनको भनाईको खण्डन गर्दै भनेका छन्, ‘मैले कसैको अनादर गरेको होइन ।’

    ‘क्लबले नै बेललाई बाहिर पठाउनका लागि काम गरिरहेको छ । यसैले मैले बोलेका कुराहरु बिना आधार म एक्लैको निर्णय होइन । मैले जहिल्यै भन्दै आइरहेको छु, क्लबका लागि सबैभन्दा महत्वपूर्ण नै खेलाडी हुन् । उनीहरुलाई अगाडि बढाउन म सधैँ साथमा नै हुन्छु’ जिदानले भनेका छन्, ‘अहिले प्रि सिजनका खेलका लागि ग्यारेथ टिमसँग छैनन्, किनभने उनी यसमा रहन चाहँदैनन् । क्लब छाड्न तयार छन् ।

    सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ । उनले मड्रिडका लागि चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन् ।

    रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्नेसमेत अहिले छायामा परिरहेको छ । उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार