फेसबुकमा हट्दैछ लाइक फिचर,अब ‘लाइक’ गन्न नपाइने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २, २०७६

  • काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् ।

    फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

    तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ । किनकी फेसबुकले अब यो लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ । फेसबुक स्वयंले यसको पुष्टि गरेको छ । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

    समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् । जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएकेा छ ।

    अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन । फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन ।

    स्मरण रहोस् फेसबुकले यस्तै खालको फिचर इन्स्टाग्राममा पनि परीक्षण गरिसकेको छ । क्यानडा, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड र जापानका प्रयोगकर्तामा गरिएको उक्त परीक्षणको नतिजा के आयो भन्नेबारेमा अहिलेसमम सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार