चीनले विदेशी बैंकमाथिको प्रतिबन्ध हटाउने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक १, २०७६

  • चीनले विदेशी बैंक, सेक्युरिटिज कम्पनी र कोष व्यवस्थापकमाथि स्थानीय बजारमा व्यवसायको लागि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । प्रधानमन्त्री ली खछियाङले मन्त्रिपरिषद्को बैठकमा बुधवार यस्तो निर्णय भएको बताएका हुन् । चिनियाँ सरकारी टेलिभिजन च्यानलले प्रकाशन गरेको समाचार अनुसार चीनले आफ्नो वित्तीय क्षेत्रलाई थप खुला बनाउने अभिप्रायका साथ यस्तो योजना अघि सारेको हो ।

    अहिले चीनले अघि सारेको योजनाले वित्तीय क्षेत्रको प्रतिस्पर्धा बढाउन सक्ने विश्वास लिइएको छ । विश्व व्यापार संगठनमा जोडिएको झण्डै १८ वर्षपछि चीनले व्यापारिक क्षेत्रमा मत्वपूर्ण सुधारको योजना अघि सारेको हो । अमेरिकासँग व्यापारयुद्ध जारी रहेको अवस्थामा चीनले अमेरिकाको माग अनुसार आफ्नो वित्तीय क्षेत्रमा विदेशी कम्पनीलाई प्रवेश केही सहज गराउन लागेको हो । गत साता मात्र विदेशी लगानीकर्ता आकर्षित गर्न वित्तीय क्षेत्रलाई थप खुला बनाउँदै लैजाने घोषणा गरिएको थियो । अमेरिकासँगको व्यापारयुद्ध समाधानको केही संकेत देखिएसँगै चीन आफ्नो वित्तीय क्षेत्र खुला बनाउने दिशामा अघि बढेको हो ।

    बुधवारको मन्त्रिपरिषद्को बैठकमा यसको प्रभावबारे भने कुनै छलफल भएको थिएन । मंगलवार मात्र चीनले विदेशी इन्स्योरेन्स र बैंकको व्यवस्थापकीय नियम केही खुकुलो बनाएको थियो । यसबाट उनीहरूलाई चीनमा व्यापार विस्तारको लागि केही सहयोग मिल्ने बताइएको छ । चीनले विदेशी लगानी भित्र्याउने र उनीहरूको व्यवसायमा सहजता उपलब्ध गराउन स्थानीय सरकारलाई पनि सहयोग गर्ने निर्णय गरेको छ । पछिल्लो समय सुस्ताउँदो अर्थतन्त्रमा सुधारको लागि चीनले वैदेशिक लगानी विस्तारमा जोड दिएको छ । अमेरिकासँग जारी व्यापारयुद्धको कारण चिनियाँ अर्थतन्त्र सुस्ताउँदो क्रममा छ ।

    सन् २००७ मा चीनले पहिलोपटक विदेशी बैंकहरूलाई आफ्नो बजारमा प्रवेशको अनुमति दिएको थियो । त्यतिबेला एचएसबीसी होल्डिङ, स्ट्यान्डर्ड चार्टड, बैंक अफ इस्ट एशिया र सिटीग्रूपले पहिलोपटक चीनमा आफ्नो सेवा विस्तारको अनुमति पाएका थिए । त्यसयता चीनको वित्तीय क्षेत्र विदेशी कम्पनीका लागि केही खुला बन्दै आएको भए पनि अझै उल्लेख्य अवरोध कायम छन् ।

    अहिले चीनमा झण्डै ४० विदेशी बैंकले स्थानीय बैंकसँग मिलेर काम गरिरहेका छन् । स्थानीय बैंकको अगाडि भने उनीहरूको उपस्थिति निकै कम छ । तर, संवेदनशील वित्तीय क्षेत्रलाई भने चीनले अझै पनि विदेशी कम्पनीलाई खुला गरेको छैन । अमेरिकी भुक्तानी सेवा प्रदायकहरू मास्टरकार्ड र भिसाका लागि अझै पनि चीनमा व्यवसाय सञ्चालनको अनुमतिको पर्खाइमा छन् ।
    एजेन्सी।

    प्रतिक्रिया
    सम्बन्धित समाचार