Featured अन्तरवार्ता साहित्य

‘मानिसको शरीर माटाको घैंटोजस्तो’

नरेन्द्र रौले

रमेश विकल (विसं १९८५–२०६५) विख्यात नेपाली साहित्यकार हुन् । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा’ उनका चर्चित किताब हुन् । विकल स्मृति दिवस (पुस २) को सन्दर्भमा प्रस्तुत छ, उनको अप्रकाशित अन्तर्वार्ता ।

फेरि भेटौंला है भन्दै छुटेका कत्ति भेट पहिलो र अन्तिम बन्न पुग्छन् । लेखक रमेश विकलसँगको मेरो भेट पनि त्यस्तै भयो ।

‘कोसेली’ का लागि अन्तर्वार्ता लिन म रमेश विकलको घर खोज्दै आरुबारी पुगेको थिएँ, ०६५ मंसिर पहिलो साता । घरको छतमा पारिलो घाम ताप्दै विकल (८१) केही लेखिरहेका थिए । त्यसबेला उनी मेरी शेली (पीबी शेलीकी श्रीमती) को विज्ञान उपन्यास ‘फ्र्यांकस्टेइन’ लाई नेपालीमा अनुवाद गर्दै थिए, ‘भस्मासुर’ शीर्षक दिएर । सँगै आफ्नो आत्मकथाको दोस्रो भाग पनि लेख्दै थिए ।

विकलसँग दुई घण्टा वार्ता गरेपछि उनको प्रोफाइल लेखेको थिएँ, ११ वर्षअघि मंसिरको अन्तिम साता, ‘कोसेली’ मा ‘अविरल विकल’ शीर्षकमा । प्रोफाइल छापिएको एक साता पनि नबित्दै विकलको निधनको खबर सुनेपछि म स्तब्ध भएको थिएँ ।

११ वर्षअघि उनले बोलेका शब्दहरू मेरो कानमा अझै गुन्जिरहन्छन्, ‘आज मलाई अन्त जानु छ । अर्को दिन मौका पारेर आउनुहोस् न ! दिनभरि गफ गरौंला ।’

दोस्रो भेटका लागि फेरि ताकेता गरें । ‘आज भ्याउँदिनँ, अर्को दिन है,’ भन्ने जवाफ पाएपछि उनीसँग सोध्नुपर्ने केही प्रश्न तयार पारें । एउटा खाममा हालेर उनका छोरा विजय चालिसे (त्यतिबेला गोरखापत्र संस्थानमै कार्यरत हुनुहुन्थ्यो) को हातमा थमाएँ । मेरा प्रश्नको जवाफ उनले पठाए– कतै केरिएका, कतै मेटिएका, कतै थपिएका अक्षरमा । पक्कै थरथर काँपेका कमजोर हातले लेखेका हुन् ती अक्षर ।

अक्षर पाएको केही दिनमै सुनें– उनी अस्पताल भर्ना भए । ०६५, पुस २ गते उनको निधन भयो, नेपाल मेडिकल कलेज–शिक्षण अस्पतालमा ।

 

उनलाई भावुक प्रश्न गरेको थिएँ, ‘अर्को जुनीमा के बन्ने रहर छ ?’ उनले भनेका थिए, ‘अर्को जुनीको कुनै निश्चित छैन । यो त आत्माको रूपान्तरण मात्र हो । फेरि म रमेश विकल नै भएर कहाँ
जन्मन्छु र ?’

यिनै हुन् मेरो प्रश्नमा उनले पठाएका लिखित जवाफ ।

बाल्यकालमा तपाईंको संगत कोसँग हुन्थ्यो ? बिर्सनै नसकिने प्रमुख घटना बताइदिनुहोला !
मेरो पूरै बाल्यकाल गाउँमै बितेको छ । निम्न वर्ग, किसान, ज्यामी–कामदारकै छोराछोरीसँग । मैले निम्न वर्गका दुःख, पीडा उनीहरूका मनोविज्ञान नजानी नजानी नै यिनैबाट सिकेको हुँ । र, आज मेरा कथाका पात्रमा जुन भावना बोल्छ, त्यो तिनैको प्रभावबाट निःसृत छ ।
बालककालमा धेरै घटना भए जुन बिर्सनै नसकिने छन् । म तपाईंलाई कुन त्यस्तो घटनाबारे सुनाऊँ ? छनोट गर्न कठिन पर्छ । तैपनि एउटा घटना म सुनाउँछु । एकपल्ट म मेरो घरभन्दा पर एउटा कुलोमा माछा मार्न गएँ । खेतका केही हिले माछा मारें । त्यो ल्याएर घरमा पोलेर खान आगोमा हाल्दा ती माछा छट्पटाएको देखेर मलाई ज्यादै ग्लानि भयो । मैले कति पाप गरेछु भन्ने लागेर पश्चात्ताप लाग्यो । र, मैले आफ्नो टाउको भित्तामा ठोक्दै रोएँ । यो आज पनि सम्झिन्छु ।

तपाईंको सम्झना रहेसम्म आरुबारी कस्तो थियो ? घरहरू, खेतहरू कस्ता थिए ?
मेरो बालसम्झनाको आरुबारी माथिल्लो गाउँ र तल्लो गाउँ अर्थात् चालिसे गाउँ र पसलटारमा विभक्त थियो । त्यहाँ समग्रमा गन्तीका घरहरू थिए । ती घरहरू सबै काँचो इँटा र परालका छानाले छाइएका हुन्थे । भुइँतला, मझेरीसम्म गन्दा तीन तलासम्मका हुन्थे ।
घर मालिकको हैसियतचाहिँ त्यही ठूलो र सानो घरको आकारले छुट्याउँथ्यो । प्रायः सबै घर रंगीचंगी माटोले पोतेको हुन्थ्यो । कुनै आधी रातो, आधी सेतो, कुनै पूरै कमेरो र कुनै पहेंलो माटोले पोतेको हुन्थ्यो । तर, घरहरू ज्यादै सीमित थिए ।
औंलामा गन्न सकिने ।

आफूले लेखेमध्ये तपाईंलाई कुन पुस्तक मन पर्छ ?
कुनै आमा–बाबुका धेरै सन्तान छन् भने उनीहरूले कसलाई बढी माया गर्लान् ? सन्तान त सबै एकै हुन् । तर, पनि मन पर्ने कुरामा चाहिँ त्यसैलाई बढी मन पराउँछन्, जसले बढी सन्तोष र सुख दिन्छ । र, पुस्तकमा जुन धेरै पाठकले रुचाउँछन् । त्यसैलाई नै बढी मन पराउँछ लेखकले । किनभने त्यसैले उसलाई बढी सन्तोष र सुख दिन्छ । मेरा केही पुस्तक छन्, जसलाई पाठकहरूले बढी रुचाएका छन् । र, तिनबाट मलाई बढी सन्तोष मिलेको छ । र, आर्थिक लाभ पनि गराएको छ । तिनमा छान्नुपर्दा म सायद ‘अविरल बग्दछ इन्द्रावती’ लाई छान्छु ।

तपाईंले बनाउनुभएका चित्रहरूको संख्या कति पुग्यो ?
भए होलान् रेखा चित्रहरू र पेन्टिङ चित्र गरेर लगभग सय, सवा सय । तर, यकिन भन्न सक्दिनँ । किनभने गनेको छैन । गन्ने बानी पनि छैन ।

क–कसका चित्रहरू बनाउनुभएको छ ? त्यसमध्ये तपाईंलाई मन परेको कुन हो ?
बनाएको छु, देवकोटा, सम, लेखनाथ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिका । लियो टाल्सटाय, गोर्की, दिग्गज दिग्गज साहित्यिक हस्ती आदिका । संगीतका हस्ती अनि वल्लभमणिजस्ता भाषासेवी र अरू विज्ञान जगत्का आइन्सटाइनजस्ता केही अन्तर्राष्ट्रिय महापुरुषहरू अनि आफ्नै परिवारका आमा, हजुरबा, श्रीमतीहरूका पेन्टिङ बनाएको छु । यस्तै, यस्तै ।

वर्षमा किताबहरूको रोयल्टी कति पाउनुहुन्छ ?
हिसाब गर्ने बानी छैन । कसैले दिन्छन्, कति दिन्छन्, दिन्छन्, दिँदैनन् त्यसको लेखोजोखा राख्ने बानी छैन । खासगरी मेरा मुख्य प्रकाशकहरू प्रज्ञा प्रतिष्ठान, साझा र एकाध अरू प्रकाशन हुन् । तिनले त अवश्य ठग्दैनन् होला भनेर विश्वासमै चलेको छु ।
मासिक, साप्ताहिक, पत्रपत्रिकामा धेरैले सित्तैँमा लेख लिन्छन् । तर, गोरखापत्र, कान्तिपुरजस्ता केही पत्रिकाले पारिश्रमिक दिन्छन् । त कतिले त सोध्नु न पुछ्नु पाठ्यपुस्तकमा हालेर एक पैसा पनि नदिई सम्पादन गरेर सम्पादक आफैँले रोयल्टी लिन्छन् । जस्तो प्याब्सन भन्ने ठूलो निजी शैक्षिक प्रतिष्ठानले एक–दुई वर्षदेखि पाठ्यक्रममा हाम्रा कृतिहरू राखेर व्यापार पनि चलाएका छन् । हामीलाई एक पैसा पनि दिँदैनन् । दिएका छैनन् ।

जीवनमा के पाएँ/के गुमाएँजस्तो लाग्छ ?
जीवनमा के कति गुमाइयो, त्यसको लेखा छैन । धेरै गुमाइएकै छ । तर, पाउनचाहिँ तपाईंहरूजस्ता पाठकको माया पाइएको छ । त्यो कम उपलब्धि हो र !

जीवन जिउन कुन–कुन कुराको आवश्यकता पर्छ ?
जीवन जिउन सर्वप्रथम त अर्थकै जरुरत पर्छ । अनि अरू धेरै कुराको जरुरत पर्छ । परिवारको, समाजको, ज्ञानको, प्रेमको, माया–ममताको, साथी–भाइको के मात्र भनौं ? सृष्टिमा भएका प्रायः सबै कुराको आवश्यकता पर्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन सबै कुरा आवश्यकता नपर्ने कुरै कुनै छैन । तर, घटी र बढीको मात्र फरक हो । कसैले कुनै कुरालाई बढी आवश्यकता ठान्छ, कसैले कुनै ।
तर, यथार्थमा हेर्दा जोसँग जुन कुराको अभाव छ, त्यसैले त्यसै कुराको बढी आवश्यकता अनुभव गर्छ । धन नहुनेले धनको, सन्तान नहुनेले सन्तानको, विद्या नहुनेले विद्याको त्यस्तै । तर, जीवनमा सबैभन्दा बढी र सबैलाई समान रूपले आवश्यकता पर्ने कुरा सुस्वास्थ्य हो । त्यो छैन भने केही पनि हुन्न । न धन, न जन, न विद्या ।

साहित्य सिर्जना गर्न के कुराको आवश्यकता पर्छ ?
सबैभन्दा पहिलो कुरा त प्रतिभा हो । भावना हो । तर, भावना भएर पनि त्यसलाई अभिव्यक्त गर्ने कला हो । र, प्रतिभालाई उपलब्धिमूलक बनाउन साधना र सीप चाहिन्छ— भावना, साधना, माया, शैली, वस्तुको ज्ञान छनोट शक्ति आदि आदि ।

अर्को जुनीमा के बन्ने रहर छ ?
अर्को जुनीको कुनै निश्चित छैन । यो त आत्माको रूपान्तरण मात्र हो । फेरि म रमेश विकल नै भएर कहाँ जन्मन्छु र ? भोलिको म के बन्छु भन्ने भोलि नै निर्दिष्ट हुन्छ । पुनर्जन्म म मान्छु । तर, जसरी परम्परावादीले मान्छन्, त्यसरी होइन । दलाई लामासम्बन्धी धारणाजस्तो । म त्यसलाई माटाका घैंटोका रूपमा मान्छु । अर्थात् मानिसको शरीर माटाको घैंटो मान्नोस् । एउटा घैंटो फुटेपछि त्यसको त्यही रूपमा जन्म हुँदैन ।

जीवनमा कुन कुराको बढी माया लाग्दो रहेछ ?
जीवनमा बढी त मान्छेले आफ्नै माया गर्छ । संसारमा आफ्ना सन्तानको सबैभन्दा बढी माया गर्ने जननीले पनि मौकामा पहिले आफ्नै माया गर्छिन् । अनि त्यसपछि आएर श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को (त्यसमा पनि अपबाद त छँदै छ) । अनि पछि मात्र तपसिलका मानिसहरूको माया गरिन्छ ।

संसार छाड्नुअघि कुन काम गरेर जान पाए हुन्थ्योजस्तो लाग्छ ?
म एउटा साहित्यकार हुँ । खासमा त मेरो आफ्नै काम (साहित्य) साधना गर्दागर्दै जान पाए हुन्थ्योजस्तो लाग्छ । तर, म एउटा मानिस पनि हुँ । मलाई आफ्नो देश र आफ्नो समाजको अति माया लाग्छ । त्यही देश र समाजको उन्नति, प्रगति हुने र कल्याण हुने कार्य गरेर जान पाए हुन्थ्योजस्तो लाग्छ ।

साहित्यलाई पेसा बनाउन खोज्नेलाई हजुरका सुझाव के–के छन् ?
साहित्य पेसा त हुँदै होइन । त्यो सेवा हो, साधना हो । तर, पनि त्यसले आफ्नो साधना, सेवा गरेबापत साधकलाई लाभ नै गराउँछ । त्यो आफ्नो ठाउँमा छ । तर, साहित्य साधनालाई कसैले केवल लाभैको मात्र पेसा तुल्याउने सोच्छ र त्यही उद्देश्य राखेर साहित्य लेख्छ भने उसलाई म सल्लाह दिन्छु— उसले भ्रष्टाचार, तस्करी गर्दा बढी लाभ पाउँछ । त्यसैले साहित्य साधना गर्न छाडेर ऊ त्यतै लागोस् ।

तपाईंलाई मन पर्ने लेखक र पुस्तकका नामहरू बताइदिनुहोस् न !
मलाई मन नपर्ने लेखक त धेरै कम छन् । कसलाई छानौं ? कसको नाम लिऊँ ? तर, पनि मलाई बढी नै मन पर्ने देशी–विदेशी लेखक साहित्यकारहरूको नाम लिनुपर्दा केहीको त लिन करै लाग्छ । तिनमा महाकवि देवकोटा त निर्विवाद नै भए । उनका अतिरिक्त दौलतविक्रम विष्ट, गोविन्दबहादुर मल्ल, भूपि शेरचन, ध.च. गोतामे आदि । विदेशीमा म्याक्सिम गोर्की, टाल्सटाय, दोस्तोयबस्की, वाल्जाक आदि नै छनोटमा पर्छन् ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्