युभेन्टसले रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • इटालियन जाइन्ट युभेन्टसले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई थप दुई वर्ष युभेन्टसमै राख्ने प्रयास थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार फरवार्ड रोनाल्डोको सम्झौता २०२२ जुनमा सकिदैछ ।
    तर, युभेन्टसले रोनाल्डोलाई क्लबमा थप दुई वर्ष राख्ने प्रयास थालेको हो । यसो हुन सकेमा रोनाल्डो २०२४ सम्म युभेन्टसमा रहनेछ । जतिबेला उनको उमेर ३९ वर्ष हुनेछ । क्लबले पनि रोनाल्डोले युभेन्टसमा सम्झौता नवीकरण गर्ने विश्वास लिएको छ ।

    पछिल्लो समय रोनाल्डो पुनः आफ्नो पुर्व क्लब रियल म्याड्रिडसँग नजिकिएको खबर बाहिरिएको थियो । रोनाल्डो बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ हेर्न सान्टियागो बर्नबेउ पुगेका थिए ।
    रोनाल्डो २०१८ मा रियलबाट युभेन्टस पुगेका थिए । उनले त्यहाँ आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनले यो सिजन ३२ खेल खेल्दै २५ गोल गरिसकेका छन् । उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा ११ गोल गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् । त्यसैले पनि क्लबले रोनाल्डोको सम्झौता लम्ब्याउने प्रयास थालेको छ ।

    क्लबले रोनाल्डोलाई यथावत राख्दै ब्राजिली तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका ग्याब्रियल जेसस र इंग्ल्यान्ड तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास समेत थालेको छ । यस्तै फ्रेन्च क्ब पिएसजीका मोउरो इकार्डी र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाइै रोनाल्डोको सहयात्रीका लागि अनुबन्ध गर्ने प्रयास थालेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार