काठमाडौं । २४ चैत । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले चिकित्सकलाई उच्च मनोबल एवं सतर्कता अपनाई कार्य गर्न आग्रह गर्नुभएको छ । प्रदेश नं १ सरकारले निर्माण गरेको विराटनगर महानगरपालिका–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आज निरीक्षणपछि उहाँले अहिले विश्वव्यापी देखिएको यो महमारीको सङ्कट समाधान गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सरकारले उच्च प्राथमिकताका साथ तयार गरेको उपचार केन्द्रको प्रशंसा गर्दै अन्य प्रदेशबाट प्रदेश नं १ मा कोरोना भाइसर सङ्क्रमणको रोकथाम गरेको तयारी उच्च रहेको जानकारी पाएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले यस प्रदेशमा अझैसम्म कोभिड–१९ देखा नपरे पनि उपचारका लागि पूर्वतयारीअनूरुप अस्पताल निर्माण भएकामा खुशी व्यक्त गर्दै यसमा सबैको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र उहाँहरुको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिई आगामी मन्त्रिपरिषद्को बैठकबाट प्रोत्साहन भत्ता, बीमा, आवास, खानालगायत विषयमा सम्बोधन हुने जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख डा सङ्गीता मिश्राले कोभिड–१९ उपचार केन्द्रका अस्पतालका चिकित्सकले बिरामीको उपचारमा सहयोग पु¥याउने बताउनुभयो । अस्पताल निरीक्षणमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर सहभागी हुनुहुन्थ्यो ।