Featured साहित्य

नफर्किने दिन र आमाको सम्झना

सुशीला थापा

पीडामा बग्ने आँसुलाई आँखाको कारागारमा कैद गरेर मस्त पीडाको हाँसो देखाउनु पनि एक कला हो । जो मसँग भरपुर छ । साँच्चै छ । हो मलाई त्यस दिनको सम्झना भने गर्न पटक्कै मन लाग्दैन । जुन दिन मेरो जीवनको कालो दिन थियो । अब चाहेर पनि कहिले त्यो खुशी पाउन सक्दिन । जुन मेरी आमाले दिनुहुन्थ्यिो ।

 

भर्खर मेरा जीवनका खुशी अंकुराउँदै थिए । म कक्षा १२ पास गरेर स्नातक पढ्न सहर पसेकी थिएँ । कति खुशी बोकेर सहर पसेकी म, त्यो खुशी मेरा लागी रहर मात्र थियो । त्यो अपरिचित सहरमा, मेरा लागी एकदमै बिरानो अनि नौलो थियो । जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्ने सुनेको थिएँ । त्यस ठाउमा पुगेपछि थाहा पाएँ, मेरो आत्मिय दिदि सारदाले मलाई होस्टेलमा बस्ने व्यवस्था गरि दिनु भयो । मेरो लागी क्याम्पस बुझिदिनु भयो । किताब, कापी, झोला किनिदिनु भयो ।

 

क्याम्पस जाने दिन नजिकियो । कलेज जान लगेको केहि दिन भएको थियो । मैले घरमा फोन नगरी बस्नै सकिन । घरमा सानी बहिनी, एकल आमा त्यो पनि बिमारी आमालाई छोडेर सहर पसेकी म । सम्झना नआउने कुरै भएन । घरबाट कस्तो छ तँलाइ ? कता छस् भनेर सोधपुछ भन्दा नि मैले घरको सन्चो बिसन्चो सोध्नुपर्ने मेरो बाध्यता नै थियो । घरमा फोन नगरी बस्नै सकिन । फोन गरेर बहिनीलाइ सोधे घरमा कस्तो छ ? आमालाई कस्तो छ ? बहिनी रूँदै भन्छे पहिलेको भन्दा गार्‍हो हुँदैछ । यो खबरले म साँच्चै नै एउटा ठुलो पहाडबाट झरे जस्तै लाग्यो ।

 

धेरै सपना बोकेर हिंडेको मान्छे म । आफ्नो पढाई संगसंगै जागिर गर्ने भाई, बहिनी पढाउने, आमालाई संसारको खुशी बनाउने सपना बोकेर हिंडेको छोरी म । कहाँ मेरा सपना एकाएक फुटेर सिसा जस्तै भए । आसाको दियो निभेर जान थाले । मेरा सपना छिनभरमै खरानीमा परिणत हुन थाले । जस्तो परिस्थिती आएपनि आँसुका दानालाई आँखाको परेलीमा कैद गर्दै भने बहिनीलाई, सानो ममी आमालाई भेट्न आउँदै हुनुहुन्छ । उहाँको साथमा ममिलाई पठाई दिनु । अनि त सधैँ पढ्न जानु नि । घरको चाँजोपाँजो मिलाउनु, भनेर बहिनीलाइ बाबुले आफ्नो छोरा छोरीलाइ दिने आदेश दिए । अब यो सहरमा कसलाइ हार गुहार माग्नु र ? साथमा मेरो भन्ने र मलाई माया गर्ने मेरी प्यारी दिदि सारदा बाहेक कोही थिएन । त्यहि दिदिलाइ भने आमालाइ गाह्रो भयो रे सानो ममिले ल्याउँदै हुनुहुन्छ ।

 

के गर्ने होला भन्दै सोच्दै थिएँ । मेरा आँखाभरी आँशु आइसकेको रहेछ । पत्तै पाइन । दिदिले मेरो हात समाउँदै भन्नु भयो, पिर नगर म छु, तेरो साथमा । बरु छिटो विरेन्द्र हस्पिटल, छाउनी गएर व्यवस्था मिलाउदै गरम् । दिदिको यो शब्दले मलाइ आलो घाउमा मल्हम लगाए जस्तै भयो । हामी दिदि बहिनी हस्पिटल पुग्यौं । सानो ममीले आमालाई हस्पिटल पुर्‍याउनु भयो ।

 

आमाको अवस्था धेरै नै कमजोर र सिथिल देखिन्थ्यिो । पहिला पनि पटक पटक ग्रान्डि अन्तर्राष्ट्रिय हस्पिटल, न्युरो हस्पिटल बाँसबारी, मेरीडेट् हस्पिटल, टिचिङ्ग हस्पिटल जस्ता सबै ठाउमा लगि सकेको थिएँ । तर, निको हुने त कुरै नगरम् झन् झन् गार्‍हो हुँदै थियो । आमालाइ हस्पिटल भर्ना गरियो । उता भाई सल्लाघारी होस्टेलमा कहिले बाथरुमा पसेर रुन्छ रे, कहिले कोठामै चुकुल ठोकेर उताबाट सरहरु फोन गर्दै भन्नुहुन्छ, ‘घरको समस्या बाबुलाई नसुनाउनु होला । बाबु धेरै रुन्छ । पढाईमा डिस्टर्ब नगर्दिनु होला ।’

 

उफ् ! लाग्छ कहिलेकाहि त यो मन बरु ढुङ्गा भएपनि हुन्थ्यो । दिन बित्दै गए । रातहरू बित्दै गए । आमालाई झन् झन् गार्‍हो हुँदै थियो । बहिनीलाई पनि बोलाएँ । बहिनीलाई दिउसोको समयमा राखें । आफु राती बस्न थालियो । बिहान, बेलुकी आफु ट्युसन पढाउँन थालें । मलाई समयले पैसाको महत्व बुझायो । आफ्ना लागी दश रूपैंयाँ खर्च गरि माइक्रोमा आनन्दले हिंड्न होइन । त्यो दश रूपैंयाँले आमाका लागी खानेकुरा किन्न सिकायो । समय बितेको पत्तै भएन । मेरो कलेज जाने सपना बुन्दा बुन्दै मेरो त अन्तिम परीक्षा पो आइसकेछ । पढ्ने धेरै रहर भएर होला परीक्षा दिन जान थालें ।

 

अन्तिम परीक्षाको अघिल्लो दिन थियो । आमालाइ भनें, – आमा मेरो भोली अन्तिम परीक्षा छ । ‘हजुरसँग बहिनी बस्छे, म जान्छु है’ । के मात्र भनेको थिएँ । सधैँ इसारा गरेर बोल्ने आमा एक्कासि बोल्नु भयो । ‘छिटो आइजा है, नानी म मर्छु होला बहिनी सानी छ । लास देखेर डराउँछे क्या ! तँ जस्तो आँटिलि छैन । फेरी देखेपछि भुराको सातो जान्छ क्या ! परीक्षा नबिगारी दिनु । धेरै पढ्नु । भाइ बहिनिको लागि दिदी होइन दाइ बन्नु, दिदी भाई मिलेर बस्नु ।’

म पनि बच्चै त हो के थाहा ? मेरी आमा यति छिटै हामीलाइ सधैँको लागी छोडेर जानु हुन्छ भनेर ।

उफ् ! परीक्षा सकेर फर्केर आउँदा फेरी त्यसरी मेरी आमासँग बोल्न पाइन । बहिनीलाई अचेत रूपमा भेटें । आफ्नो मान्छे कोहि भेटिनँ ।

आफ्नो प्रतिक्रिया जनाउनुहोस्