काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले निर्वाचन तथा नागरिक शिक्षा जनशक्तिको क्षमता विकासका लागि तयार भएका श्रोत सामग्रीको अधिकतम उपयोग गरी स्थानीय सरकार र सबै साझेदार संस्थासँग सहकार्य गर्ने नीति अघि सारेको छ ।
आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्यक्रमको समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबै चरणमा निर्वाचन सरोकारवालाको महत्वपूर्ण संलग्नताका लागि सहकार्य आवश्यक रहेको बताए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ‘भर्चुल’ माध्यमबाट आयोजना गरिएको समीक्षामा आयोग पदाधिकारी, कर्मचारीका साथै ७७ जिल्ला निर्वाचन अधिकारी र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । पाँच दिने उक्त समीक्षाबाट निर्वाचनमा ‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणाका साथ अघि बढ्ने निष्कर्ष निकालिएको छ ।
समीक्षामा गत आर्थिक वर्ष २०७६र७७ मा सञ्चालित वार्षिक कार्यक्र र क्रियाकलापको कार्यान्वयनको अवस्था, वार्षिक बजेट तथा खर्चको विवरण, कार्यक्रम कार्यान्वयनमा देखिएका मुख्य समस्या, समाधानका लागि गरिएका प्रयास, आयोगको सचिवालयसँग गरिएको अपेक्षालगायत विषयमा गहन छलफल भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका लागि कार्यालय भवन प्राप्त गर्ने, मतदान केन्द्र निर्धारण मापदण्ड तर्जुमा र कार्यान्वयन, आयोगको स्मारिका प्रकाशनलगायत विषय पनि बृहत्तर छलफल भएको थियो । जिल्ला निर्वाचन कार्यालयको कार्य सम्पादनस्तर सन्तोषजनक रहेको समीक्षाबाट निचोड निकालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।