प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २४, २०७७

  • काठमाडौँ, २४ पुस : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज खेल तालिका सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ । उक्त खेल कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

    फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार