तीन कोरोना सङ्क्रमितको निधन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख ९, २०७८

  • corona

    पर्सा, ९ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका – १६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज– १९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताए । त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा दासले जानकारी दिए ।

    यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बझाङ– यहाँ एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण जोशीले जानकारी दिएका छन् । सङ्क्रमित भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए ।

    उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट