२० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १, २०७८

  • धनुषा, १ जेठ । गणेशमान चारनाथ नगरपालिकाले २० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले जानकारी दिनुभयो ।

    उहाँले आवश्यक परे जनशक्ति थप गर्ने बताउनुभयो । नगरप्रमुख यादवले भन्नुभयो, “अघिल्लो वर्ष छ वटा क्वारेन्टिन सञ्चालन गरेर कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयास गरेका थियौँ, यस पटक अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा छन्, बिरामीलाई निःशुल्क औषधि र खानपिनको समेत व्यवस्था गरेका छौँ ।” कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेकाले थप आइसोलेशन र क्वारेन्टिनको व्यवस्थासमेत गर्न लागिएको उहाँले बताउनुभयो । नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । दुई दिनमा ७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जानकारी दिनुभयो ।

    नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा हाल एकजना सङ्क्रमित छन् । पाँचजना सङ्क्रमित होम आइसोलेशनमा रहेको इन्चार्ज रायले बताउनुभयो । रायले होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई औषधोपचारका लागि दिनहुँ चिकित्सक पठाउने गरिएको जानकारी दिनुभयो । त्यसैगरी सङ्क्रमितलाई ओसारपसारका लागि एउटा एम्बुलेन्स तयारी अवस्था राखिएको र थप चार एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको रायले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार