भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ १, २०७८

  • भादगाउँ, १ जेठ । भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन शुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो ।

    त्यसका लागि प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । मेसु गौतमका अनुसार जडान गर्न लागिएको प्लान्टले दैनिक चार हजार लिटर अक्सिजन उत्पादन गर्नेछ । “युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरेकी छु”, मेसु गौतमले भन्नुभयो । भक्तपुर अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । गत वर्ष प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल सो अस्पतालमा हाल ६५ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको उपचारका लागि ७५ श्ययासम्म विस्तार गरिसकेको यो अस्पतालले केही श्यया कटौती गरिसकेको छ ।

    अक्सिजनको अभावलाई न्यूनीकरण गर्न मेसु डा गौतमले तराईका जिल्लाबाट समेत अक्सिजन ल्याएर बिरामीको उपचार गरिएको बताउनुभयो । मेसु डा गौतमले अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मीसमेत कोरोना सङ्क्रमित रहेका जानकारी दिँदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि आम जनसमुदायसँग अपिलसमेत गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार