सञ्चारमाध्यममा अपाङ्गतामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह



    • फ्रन्टलाइन नेपाल
    • शुक्रबार, जेष्ठ ७, २०७८

    पोखरा, ७ जेठ । कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागीले विभिन्न कारणले अपाङ्गगता भएकाको अधिकारलाई स्थापित गर्न सञ्चारमाध्यमले अपा¬ङ्गमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।

    दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अझै पनि अपाङ्गता भएका समुदायलाई होच्याउने र विभेद गर्ने खालका शब्द प्रयोग गरिएका समाचार प्रकाशन तथा प्रसारण हुँदै आएको बताउनुभयो । आम नागरिकलाई सुसूचित गराउने सशक्त माध्यम र सञ्चारकर्मीले अपाङ्गतामैत्री भाषाको प्रयोग नगरिदिँदा यस क्षेत्रका व्यक्तिको आत्मसम्मानमा चोट पुग्न गएको उहाँको भनाइ थियो । उहाँले शारीरिक अङ््ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा १० प्रकारको अपाङ्गता भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, दृष्टिविहीनता, न्यून दृष्टियुक्त, पूर्ण दृष्टिविहीन, सुनाइसम्बन्धी अपाङ्गता, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी अपाङ्गता, बहुअपाङ्गता रहेको छ । केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शारीरिक, मानसिक बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अपाङ्गता भएकाहरुको जनजीवन सहज हुन नसकेको बताउनुभयो । उहाँले अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभाकारी ढङ्गले समाजिक जीवनमा सहभागी हुन बाधा भएको यथार्थ प्रस्तुत गर्दै सञ्चारमाध्यमा अपाङ्गताका मुद्दालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

    उक्त भर्चुअल कार्यक्रममा सहभागी हुँदै संस्थाका परियोजना अधिकृत लोकप्रसाद ढकालले सञ्चारमाध्यममा पर्याप्त साङ्केतिक भाषा प्रयोग नभएको, टेलिभिजनमा आएका क्याप्सनहरू अपाङ्गता भएका व्यक्तिले देख्ने र बुझ्नेखालको नभएको बताउनुभयो । केन्द्रका महासचिव अञ्जना केसीले अपाङ्गता भएका व्यक्तिको समाचार सञ्चारमाध्यममा आए पनि अझै गम्भीर समस्या समेटिएका कथाव्यथा बाहिर आउन नसकेको बताउनुभयो । सञ्चारमाध्यमका सूचना अधिकांश अटिज्म, बहुअपाङ्गता भएका, बहिरा समुदाय र बौद्धिक अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ थियो ।

    केसीले कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका बीस पत्रकारले अपाङ्गतासम्बन्धी प्रयोग हुने शब्दावली एवं त्यसको अर्थ र अपाङ्गतासम्बन्धी अधिकारका विषयमाथिको छलफलमा सक्रिय सहभागिता जनाएको जानकारी दिनुभयो । यसअघि केन्द्रले महामारीका समयमा सूचना, सञ्चार र सेवासुविधामा अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्थासम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार