लामिछाने ट्रिन्बागो नाइट राइडर्सबाट सिपिएल खेल्ने



    • फ्रन्टलाइन नेपाल
    • मङ्लबार, जेष्ठ ११, २०७८

    काठमाडौँ, ११ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्दै छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् ।

    लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहेका छन् ।

    गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए। हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसक्नुभएको छ । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार