गैडहवाः यशोधराको मन्दिर बनाइने, लुम्बिनीका पर्यटकलाई आकर्षण गरिने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार ९, २०७८

  • बुटवल, ९ असार । रुपन्देहीको मधेशी समुदायको बाहुल्य भएको गैडहवा गाउँपालिकाले आज नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नीति कार्यक्रम गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट र बजेट उपाध्यक्ष शोभावती यादवले प्रस्तुत गरेका हुन् ।

    नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता दिइएर बजेट निर्माण भएको छ । बजेटमा कृषि क्षेत्रको व्यावसायीकरणका माध्यमबाट कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा, आत्मनिर्भर्ता निर्यात गर्न सक्ने अवस्थामा पुर्‍याउन प्राविधिक सेवा तथा उत्पादन सामाग्रीको उपलब्धता सुनिश्चित गरिने र कृषिमा एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ । कृषि स्मार्ट गाउँ विकसित गरिँदै लगिने जनाइएको छ ।

    गाउँपालिकाका गैडहवा ताल, तुल्सीहवा ताल, शहीद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगडेश्वर महादेव, यशोधरा माताको मन्दिर र बालोद्यानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र त्यसलाई आर्थिक विकासका अवसरसँग जोड्ने गरी निरन्तरता दिइने उल्लेख छ । लुम्बिनी आउने पर्यटकलाई गैडहवासम्म ल्याउने र उनीहरुको बसाइ यस क्षेत्रमा रहने गरी घरबास सञ्चालनमा ल्याइने जनाइएको छ ।

    प्रदेश र संघीय सरकारसँग समन्वय गरी सुविधासम्पन्न यशोधरा पार्क निर्माण गरेर राष्ट्रिय पर्यटकीयस्थलका रुपमा विकसित गरिने नीति कार्यक्रममा जनाइएको छ । गैडहवामा एउटा छात्रा विद्यालय स्थापना गर्नेतर्फ अध्ययन गर्ने र जेहेन्दार, गरीब, दलित र छात्रालाई छात्रवृत्ति एवं प्रोत्साहनस्वरुप शैक्षिक सामग्री प्रदान गरी अध्ययनको वातावरण सुनिश्चितता गरिने उल्लेख छ ।

    गाउँपालिकाको बजेट रु ६६ करोड ७१ लाख ४४ हजार प्रस्तुत गरिएको छ । बजेटमा कृषि, शिक्षा र पर्यटनलाई उच्च प्राथमिकता दिइएको छ । बजेट, नीति कार्यक्रम यही असार १४ गते पारित गर्न कार्यक्रम रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट