दर्शनशास्त्रको अध्ययन र प्रकाशनमा एकेडेमी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार १८, २०७८

  • काठमाडौँ, १८ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागले दर्शनसम्बन्धी अध्ययन र प्रकाशनलाई बढावा दिएको छ । विभागबाट पौरस्त्य दर्शन र द्वन्द्ववाद, वैदिक संस्कृतिमा राष्ट्रवाद, बौद्ध दर्शन सरल अध्ययन, वैदिक समाज र दर्शन, माथुरी पञ्च लक्षणीको व्याख्यासहित पुस्तक प्रकाशन गरेको छ । विभागबाट वैद्धिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन छपाइका क्रममा रहेको छ ।

    सो विभागका प्रमुख एवं प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न विभागीय बैठकमा विभागद्वारा प्रकाशन हुँदै आएको दर्शनावली अब केन्द्रीय योजनाअन्तर्गत प्रकाशन हुने प्राज्ञ परिषदबाट निर्णय भएको जानकारी गराइएको छ ।

    बैठकले चालु आवमा सम्पन्न भएका गोष्ठी, अनुसन्धान र प्रकाशनको समीक्षा गर्दै दर्शनावली भाग ८ शीघ्र प्रकाशित गर्ने, नेपाली दर्शन नामक ग्रन्थका लागि प्रस्तावित तथा निर्धारित विषयमध्ये प्राप्त हुन बाँकी सामग्री चाँडोभन्दा चाँडो सङ्कलन गरी प्रकाशनका लागि अन्तिम रूप दिने निर्णय गरेको छ ।

    बैठकले यही असार २२ गते ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा महिला अध्ययन केन्द्रसँग संयुक्त रूपमा ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक भर्चुअल विचार–गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख प्रा। उपाध्यायले विभागद्वारा चालु आवमा उपत्यका र बाहिर गरी सातओटा विचार–गोष्ठी सम्पन्न भएका र विभागद्वारा तयार भएका दर्शनशास्त्रसम्बन्धी दुई पुस्तक प्रकाशन भएको र चारओटा पुस्तक प्रकाशनका क्रममा रहेको जानकारी गराउँदै विभागले बजेटको सीमाभित्र रहेर पूर्व निर्धारित तात्कालीन र दीर्घकालीन योजनालाई शीघ्र कार्यान्वयन गर्ने निर्णय भएको बताए ।

    विसं। २०२८ देखि २०४१ का बीचमा तत्कालीन नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित तथा प्रा. चूडानाथ भट्टराईद्वारा लिखित ९ ओटा पुस्तक सम्पादनसहित प्रकाशन हुन लागेको विभागीय प्रमुख प्रा. उपाध्यायले जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार