लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २७, २०७८

  • रुपन्देही, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि आजदखि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । पूर्वनिर्धारित तालिका अनुसार आज १ बजेदेखि विशेष अधिवेशन शुरु भएको थियो । त्यसअघि अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अविश्वासको प्रस्ताव गर्नुभएको थियो ।

    नेता कानोडियाले ढिलै भए पनि राजीनामा दिएको भन्दै मुख्यमन्त्री पोखरेललाई धन्यवाद दिनुभयो । बैठकमा सहसराम यादव, तारा जिसी, कृष्णध्वज खड्काले अविश्वास प्रस्तावमा समर्थन जनाउनुभएको थियो । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीले पुनःप्रदेशसभाको दोस्रो बैठक शुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको जानकारी गराउनुभएको थियो । संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शङ्कर पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । विपक्षी गठबन्धनमा ४१ सदस्य छन् ।

    गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । बैठक शुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिए पनि प्रदेशसभा बैठक पूर्वनिर्धारित कार्यसूचीअनुसार चलेको थियो । प्रदेशसभा बैठकबाट सत्ता पक्षका सदस्यको उपस्थिति थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार