श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १०, २०७८

  • काठमाडौँ, १० भदौ । श्रीलङ्काका सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । दुवै जनाले उक्त प्रतियोगिता चितवन टाइगर्सबाट खेल्ने पक्का भएको छ । चितवन टाइगर्सले आज विज्ञप्ति जारी गर्दै सेकुगे र वीरनदीपलाई इपिएलका लागि अनुबन्ध गरिएको जनाएको छ । सेकुगे ब्याटिङ र बलिङ गर्नसक्ने खेलाडीका रुपमा परिचित हुनुहुन्छ ।

    यस्तै मलेसियाका पूर्वकप्तान वीरनदीप ब्याट्सम्यान हुन् । दुवै खेलाडीलाई भित्र्याएपछि आफ्नो टोली बलियो भएको चितवन टाइगर्सका मालिक किशोर भट्टराईको भनाइ छ । चितवनले यसअघि पाकिस्तानका डानिश अजिज तथा अफगानिस्तानका मोहम्मद साहजाद र करिम जान्तलाई अनुबन्ध गरिसकेको छ । चितवनले टोलीको कप्तानी गर्ने जिम्मा सोमपाल कामीलाई सुम्पेको छ । चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

    प्रतियोगितामा चितवन टाइगर्ससँगै ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् । चितवनको टोलीमा भीम सार्की, कमलसिंह ऐरी, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, आदिल खान, सागर ढकाल, खड्ग बोहरा, इशान पाण्डेलगायतका खेलाडी रहनुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार