अचेल ‘बा’ फ्रेममा बस्नुहुन्छ (कविता)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ २२, २०७८

  • सम्झना उपाध्याय

    अचेल ‘बा’ केही बोल्नु हुन्न
    न आँखा तर्नु हुन्छ
    न गुनासो गर्नु हुन्छ
    म ढिला घर आउदा नि चिन्ता छैन
    हप्तौं ओछ्यानमा हुँदा नि आश्चर्य भाव छैन ।

    तँ के गरिराखेकी छेस् पनि भन्नु हुन्न,
    यसो गर राम्रो हुन्छ पनि भन्नु हुन्न !
    आमाको एक्लोपन बताउन खोज्छु
    प्रतिक्रिया बिहिन बस्नु हुन्छ ।

    सम्बन्धमा परेका चिराहरू सुनाउन खोज्छु
    न जिज्ञासु, न सहजकर्ता बन्नुहुन्छ !
    आफ्नो खबर पनि भन्नु हुन्न
    हाम्रो हालचाल पनि सोध्नु हुन्न !
    कहिलेकाहीं मन लागे सपनामा आउनुहुन्छ
    शिरमा सुम्सुम्याउनुहुन्छ !
    एकोहोरो हेरिरहनु मात्रै हुन्छ

    अचेल ‘बा’ फ्रेममा बस्नुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार