सम्झना उपाध्याय
धेरै पछि माईतिघर गएँ,
घरभित्र ‘बा’ देखिनँ
सिरानी छेउका चुरोटदानी,
औषधी पनि देखिनँ
गहुँ गोरो, सेतो कपाल, फुस्किएका दाँतहरू,
दाँतबिच फुत्किएको
मीठो हाँसो पनि देखिनँ ।
आमाको सेतो कपाल
त्यसको बिचमा सिउँदो
बा को चिनो
आमाको शिरमा सिन्दुर देखिनँ
परेवाको जोडी जस्तो सधैँ सँगै देख्ने गर्थें
सधैँ हाँस्ने आमाको मुहारमा
खुशीको लहर देखिनँ ।
आँखा हेर्दा सधैँ रोएका,
मन पनि अँध्यारो लाग्यो
आमाको शरीरमा सजिने रातो बर्को कहिं कतै देखिनँ
छट्पटिएँ, रन्थनिएँ, शुन्यतामा हराए झँै भएँ
बा विनाको माईतिघरमा
मैले उज्यालो देखिनँ ।