पहिराले मध्यपहाडी लोकमार्गमा पाँच करोडको क्षति


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २६, २०७८

  • गलकोट, २६ भदौ । कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । भदौ १७ गते राति पर्वत खण्डको आठ किलोमिटर सडक २० ठाउँमा अवरुद्ध भएको थियो । जसमध्ये सबैभन्दा क्षति कुश्मा नगरपालिकाको दोबिल्लामा भएको थियो । पर्वतको भ्याप्लेखोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा सास्ती कायमै रहेको यात्रुले बताएका छन् ।

    सडकमा दैनिक घण्टौ जाम भइरहेको छ । पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याए पनि पहिराले बढी क्षति पु¥याएको छ । पहिराका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिनुभयो । भदौ १७ गतेदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ । सडकको अवरोध हटेको भोलिपल्टै चुवामा दुई घण्टा सवारी जाममा परेको मोटरसाइकल यात्रु राजन कार्कीले बताउनुभयो ।

    पहिरो खसेर क्षति पु¥याएको सबै सडक कालोपत्रे भइसकेको थियो । अहिले उक्त सडक एकतर्फी हुँदा सवारी जाम हुने समस्या बढ्दै गएको छ । “पर्वत खण्डको सडक बन्द हुँदा बागलुङको पञ्चिम क्षेत्र खर्बाङ–गुल्मी हुँदै बुटवल पुगेको थिए”, कार्कीले भन्नुभयो, “सडक खुल्यो भनेपछि पोखरा बागलुङ सडकखण्डअन्तर्गत यात्रा गरे पनि चुवामा दुई घण्टा जाममा परियो, अत्यावश्यक बाहेक अन्य कामका लागि अहिले पर्वत खण्डमा यात्रा गर्दा निकै जोखिम छ ।” भ्याप्लेखोलामा सेनाको सहयोगमा चट्टान फुटाएर सडक खुलाए पनि सडकमाथि ठूला ढुङ्गा रहेका कारण जोखिम कायमै छ । आयोजनाले क्षतिको विवरण सङ्कलन गरिरहेको र पहिराले क्षति पु¥याएको कालोपत्रे सडक, नाली, पर्खाल, कल्र्भट तथा थप नयाँ संरचना निर्माणका लागि अध्ययन भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।

    “सडकमा क्षति पुगेको छ, कालोपत्रे क्षतविक्षत सडकले निर्माण व्यवसायीलाई समस्यामा पारेको छ, सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक हस्तान्तरण गरीनसक्दा सडक मर्मतको जिम्मा निर्माण व्यवसायीकै हुन्छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “तर सडकमा ठूलो क्षति भएका कारण र पहिलाका अनुमानभन्दा बाहिर गएर संरचना थप गर्नुपर्ने भएकाले केही छुट्टै निर्णय आवश्यक छ, अहिले लगत सङ्कलनकै क्रममा र थप संरचना थप गर्नुपर्ने स्थानको अध्ययनमा नै छौँ ।” पहीराले पर्वतकै तल्ला मोदी जलविद्युत् आयोजनामा करोडौँको क्षति भएको छ । सडक खुलेको भोलिपल्टदेखि नै उक्त सडकमा घण्टौ जाम हुन थालेको छ । सडक एकतर्फी सञ्चालनमा आए पनि कुश्मा नगरपालिका–८ चुवामा सडक नै बगाएको थियो । सडक अस्थायी रुपमा सञ्चालनमा आएको भए पनि सडक छेउको माटो हटाउने कार्य भइरहेको छ ।

    दोबिल्लामा ठूलो मात्रमा पर्खाल लगाउन आवश्यक रहेको र पर्खाल नलगाउँदासम्म दोबिल्लामा दुईतर्फी सडक खुलाउन नसकिने आयोजनाले जनाएको छ । दोबिल्लामा सानो पानी पर्नासाथ सडक अवरुद्ध हुने सम्भावना रहेको छ । ध्वस्त भएको झण्डै पाँच करोडको संरचना र थप तीन करोडको नयाँ संरचना गरी सडकलाई पुरानै अवस्थामा ल्याउन आठ करोड जति खर्च लाग्ने आयोजनाको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार