यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ३, २०७८

  • मनाङ, ३ असोज । विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो । कर्तव्य ज्यान मुद्दाका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको हो । कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका (साविक नार गाविस)का सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो ।

    मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा सङ्कलन गर्ने गरेका थिए । सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा सङ्कलन गर्न पाउने व्यवस्था गरिएको छ । कारागारमा कैद भुक्तानका क्रममा उनीहरुको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट