सुदूरपश्चिम : बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक ७, २०७८

  • बैतडी, ७ कात्तिक । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ ।

    डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक-एक छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एक/एक जना घाइते भएका हुन् ।

    विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट