आजबाट नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने, डेढ सय साहित्यकार भेला हुने


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक २७, २०७८

  • चितवन । आजबाट चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव सूरु हुँदैछ । कविडाँडा साहित्य समाजको १९ औं स्थापना दिवसको अवसरमा आज र भोली उत्सव आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार यस उत्सवमा भारत र नेपाल गरेर करिब १ सय साहित्यकार सहभागी हुनेछन् । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिनुभयो । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उहाँले बताउनुभयो । उत्सवको सबै तयारी पूरा भईसकेको छ ।

    नेपाल–भारत साहित्य उत्सवमा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा. नवीन पौडेल, डा.टिबी क्षेत्री तथा नेपालका डा केशव चालिसे, डा अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिदै छ ।

    उत्सबमा सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि रहेको छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताउनुभयो ।
    त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डीआर शर्मालाई विभिन्न विधामा पुर्‍याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुहुनेछ भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताउनुभयो । कार्यक्रमले दुई देशबीचको साहित्य प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
    कवि एवं पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो । होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ । यो उत्सव होटल जङ्गल सफारी लजमा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार