एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उषाकिरणको घोषणा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर १०, २०७८

  • चितवन, १० मंसिर । नेकपा एमालेकी नेता उषाकिरण तिम्सिनाले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। चितवनमा आजबाट मंसिर १२ गतेसम्म एमालेको महाधिवेशन हुँदैछ।

    उनी यसअघिदेखि नै पार्टी राजनीतिमा पनि सक्रिय थिइन्। उनी नुवाकोट पार्टी सदस्य छिन्। नवौं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिइन्। तिम्सिनाले यसपालि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइन्। उनी नेता माधवकुमार नेपालनिकट रहे पनि नेपालले पार्टी फुटाउँदा एमालेमै सक्रिय रहिन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा समेत चर्चा गरिन्छ। तिम्सिनाले लामो समय अखिलमा रहेर पनि काम गरेकी थिइन्।

    स्कुले जिवनबाट कम्युनिस्ट आन्दोलनमा होमिएकी नुवाकोटकी उषाकिरण तिम्सिना नेकपा एमालेभित्र आफ्नो छुट्टै छबि बनाउन सफल नेतृहरुमध्ये पर्छिन् । अनेरास्ववियुको राजनीतिबाट उदाएका अन्य महिला नेतृहरुको तुलनामा निकै अध्ययनशिल र भरपुर आलोचनात्मक चेत बोकेकी नेतृ भनेर उषाकिरण तिम्सिनालाई चिनिन्छ।

    विभिन्न राजनीतिक आरोह अबरोहका बिचपनि सधैं आफ्नो अडानमा अडिग रहने, पार्टीभित्र आन्तरिक लोकतन्त्र, महिला अधिकार र समान अबसरको पक्षमा निरन्तर वकालत गर्ने उनी आजबाट हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदार हुन् ।

    उनी नुवाकोट जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन्। आजको राजनीतिमा विचार भन्दा बजारले गाँजेर थिलथिलो बनेको युवा जमात बिच आन्दोलन र राजनीति विचार र मूल्यले निर्धारण गर्ने दृष्टिकोण सहित अनवरत संघर्षशील उषाकिरण तिम्सीनाको दावेदारीलाई नुवाकोट र देशैभरका युवाहरूले स्वागत गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार