२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर १४, २०७८

  • काठमाडौँ, १४ मङ्सिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।

    काठमाडौँ–बैङ्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिनुभयो । बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार